arrow

पाल्पामा रोपाँईजात्रा, घट्दै रौनकता

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ १२ मंगलबार
jatra-palpa.jpg

पाल्पा । असारे मासको दबदबे हिलो
छुनलाई घिन लाग्छ
पातली ज्यानलाई फरिया हाल्न छ बीस रिन लाग्छ ।

जति बेला मनोरञ्जनका साधन थिएनन् त्यति बेला यही गीतमा रमाउने पुस्ता अहिले रमिते बनेको छ । यस्ता सुर अहिलेका पुस्ताले भुलेकोमा पाको पुस्तालाई भने पिरोलेको छ ।  दशकौं पुरानो इतिहास बोकेको रोपाँई जात्रा पाल्पामा पनि मनाइयो । प्रत्येक वर्ष यहि समयमा तामझामका साथ मनाईने रोपाँईजात्रा यो वर्ष पनि झरीका बीच सकिएको छ ।

रोपाँई जात्राले जिल्लामा आफ्नै संस्कृति र ऐतिहासिक  पहिचान बनाएको जानकारहरु बताउँछन् । रोपाँईंजात्रा असारको महिना धानको रोपाइ गरी सके पछी मनाइन्छ ।  जात्रामा रोपाईंमा धान रोपेझैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन् ।

 मंगलबार गाउँगाउँबाट निकालिएका जात्रा सदरमुकाम तानसेन नगर परिक्रममा गराईएको थियो   । असारे रोपाईंको झल्को दिने गरी सडकमा धान रोपेर  रोपाईं जात्रा मनाइएको हो । जात्राका विभिन्न भेषभूषामा सजिएका बालबालिकाहरुलाई खेताला खेतालीको रुपमा धान रोपेको दृश्य देखाईएको थियो । बूढापाकाहरु गाउँको मुखिकाको रुपमा हलगोरुहरुले खेत जोतीरहेका देखिन्थे ।

पञ्चेवाजाको तालमा नाच्ने जात्रालुहरुको घुँईंचो देखिन्थ्यो । मानिसहरुले लगाउने पोशाक, हाउभाउ व्यंग्यात्मक देखिन्थे । साहु महाजनलाई सुरक्षा दिएर राखेर छाता ओढाई बजार घुमाएका थिए भने बाँसबाट बनाइएको क्यामेराले फोटो खिचेको अभिनय पनि प्रदर्शन गरिएको थियो । मानिसहरु रोपाईजात्रा हेर्न गाउँगाउँबाट जिल्ला सदरमुकाम तानसेनमा आएका कारण  सुनसान बनेको सदरमुकाममा एक पटक चहलपहल बढेको थियो ।
 
  घट्दै रौनकता
इतिहास बोकेका पाल्पाका जात्राहरुको रौनक विस्तारै हराउदै गएका छन् । विगतमा जिल्लाका विभिन्न ठाउँहरुबाट निकालिने रोपाँईजात्रा यस वर्ष भने दुई ÷ तीन स्थानबाट मात्र निकालिएको छ  ।  आधुनिकतासँगै रोपाईजात्राको रौनकता हराउँदै गएको इतिहासकार निर्मल श्रेष्ठले बताए ।  ‘यो जात्रा खर्चिलो भएकाले आर्थिक अभावका कारण पछिल्ला बर्षहरुमा रोपाँईजात्रा निकाल्ने प्रचलन कम हुँदै गएको छ,’ उनले भने,–‘यसको संरक्षणमा सबैले चासो दिनुपर्ने बेला आएको छ ।’ जिल्लाका जात्राहरु धार्मिक, सांस्कृतिक र मनोरञ्जन सँग जोडिएकाले पनि संस्कृति जोगाई राख्न नयाँ पुस्तालाई संस्कृतिका विषयमा जानकारी गराउनुपर्ने इतिहासकार श्रेष्ठले बताए ।  
 
जिल्लामा  सञ्चालन हुँदै आएका  जात्राको आफ्नै छुट्टै पहिचान भएकाले  यसको संरक्षणमा सबै जुट्नुपर्ने तानसेन  ६ का वडा अध्यक्ष सागर महर्जनले बताए । पछिल्लो समयमा जात्रा बढी खर्चिलो भएकै कारण पनि जात्राको रौनकता घट्दै गएकाले स्थानीय निकायहरुले यसको खर्चको प्रवन्ध मिलाई जिल्लाको संस्कृतिको संरक्षणमा लाग्नुपर्ने अध्यक्ष महर्जनको भनाई छ ।

२०१४ सालदेखि जिल्लामा देखाइँदै आएको जात्रा संरक्षण गर्नेप्रति सरोकारवाला निकायले चासो नदेखाएकोमा जात्रामा सहभागीहरुले  गुनासो गरेका छन् । जात्रामा सहभागि तानपा १ बराङ्दीका  यमलाल बस्यालले  जात्रा निकाल्न  सानो रकमले नहुने  बताए । उनी भन्छन् ‘आधुनिकताको नाममा जात्रा हराउनै थाल्यो । जात्रा निकाल्न सहयोग कहिँ कतैबाट छैन । सरकारी निकायले  र सरोकारवालाहरुले बेलैमा ध्यान नदिने हो भने यो जात्रा विस्तारै हराउदै जाने  छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ