arrow

प्रधानमन्त्री ओलीकै जिल्लामा करको रकमबाट दर, महिलानै उत्रिए विरोधमा

करको रकममा भोजभतेरको महिलाहरुले ज्ञापन पत्र बुझाएर गरे विरोध

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
jhapa-nagar-dar-birodh-mahila.jpg

झापा। प्रधानमन्त्री केपी ओलीको जिल्ला झापामा नेकपाले जितेको भद्रपुर नगरपालिकामा जनताबाट उठाएको करले कार्यकर्तालाई दर खुवाउने कार्यक्रम राखिएपछि स्थानिय महिलाहरुले नै त्यसको विरोध गरेका छन्।  

स्थानिय महिलाहरुको विरोधलाई संस्थागत ढंगले नेपाल महिला संघले साथ दिएको छ। महिला संघले भद्रपुर नगरपालिकामा करको रकममा दर खुवाउने कार्यको विरोध गर्दै ज्ञापन पत्र बुझाएको छ। 

भद्रपुर नगरपालिकाले संस्कृति जर्गेना र मठ मन्दिर, गुम्बा निर्माणलगायतका कार्यक्रम विनियोजित गरिएको बजेटबाट तीजमा नगरका दिदीबहिनीलाई दर खुवाउने कार्यक्रम राखिएपछि त्यसको स्थानिय महिलाहरुले नै विरोध गरेका हुन्। भद्रपुर नगरपालिकाले दर खुवाउन भन्दै दुई लाख रुपैयाँ छुट्याइएको छ। 

जनताको करबाट संकलित रकमले महिला उत्थानका लागि भन्दै करिब ४ सय महिलालाई तीजको दरका नाममा भोज दिन लागिएको हो। नगरले नेकपाका स्थानिय नेता कार्यकर्ता महिलाहरुलाई बोलाइ भदौ २२ गते दरका नाममा भोज खुवाउन लागेपछि स्थानिय अगुवा महिलाहरु आक्रोशित भएका हुन्। 

जनताको करबाट असुलेको रकम तीजको दर खाने नाममा भोजमा सक्न लागेको भन्दै सो कार्य रोक्न नगर प्रशासन समक्ष महिला संघ भद्रपुरले विरोधपत्र मार्फत आपत्ति जनाएको छ।

मंगलबार ज्ञापन–पत्र बुझाउँदै महिला संघले आपत्ति जनाएको हो। ५२.८ प्रतिशत महिला रहेको भद्रपुरमा केहि महिलालाई मिष्ठान्न भोजन गराउने कार्यक्रम लज्जास्पद देखिएको ज्ञापन–पत्रमा उल्लेख छ। महिला संघ भद्रपुर इकाई सभापति प्रमिला कोइराला र सचिव पार्वता मल्लले हस्ताक्षर गरेको ज्ञापनपत्रमा नगरपालिकाले उभौली, ल्होसार, बकर इद, कुशेऔँसी, दसैँ, तिहार छठ पर्वको कार्यक्रम आयोजना नगरी तीज पर्व मात्र मनाउनुको अर्थ नरहेको उल्लेख छ। 

महिला संघ झापाकी सभापति सुशीला ढकालले प्रतिनिधिमुलक दर खाने काम जनपक्षीय हुन नसक्ने भन्दै नगरबासी महिला उत्थानका लागि छुट्याइएको रकम नगरले मनपरी रुपमा दरका नाममा खर्च गर्न नपाउने बताइन। 

हुने खाने, गाउँघर टोल–टोलमा प्रतिस्पर्धात्मक रुपमा पैसा उठाएर दर खाने महिलालाई नै नगरले दर खुवाउन लागेको भन्दै महिला संघले आपत्ति जनाएको छ।  नगरले उत्पीडित, मजदुर र आर्थिक अवस्था कमजोर भएका महिलालाई दर खुवाउनुपर्ने ढकालले बताइन। 

नगर उपप्रमुख तथा दर कार्यक्रमकी संयोजक चन्द्रमाया श्रेष्ठले भने महिलाकै हितमा तीजको कार्यक्रम ल्याइएको बताइन। तर दर खुवाएर कसरी महिलाो हित हुने भन्ने बारेमा उनले बताइनन्। तीजको कार्यक्रमका लागि भनेर दुई लाख रुपैयाँ बजेट विनियोजन भएसँगै दर कार्यक्रमका लागि भने भद्रपुरकै होटल सिटी गार्डेनलाई ६५ हजार रुपैयाँ पेश्की दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ