arrow

श्रीमती छोडेर भागे सीमा वार्तामा गएका प्रजिअ र डिएसपी

logo
जनकबहादुर शाही,
प्रकाशित २०७५ भदौ १३ बुधबार
sima-barta-cdo-dsp-locals.jpg

हुम्ला । चीनको स्वशासित क्षेत्र तिव्वतको ताक्लाकोटमा हुने नेपाल र चीनका सुरक्षा अधिकारी बीचको सीमा बैठकमा भाग लिन गएका प्रमुख जिल्ला अधिकारीको टोलीलाई नेपाल र चीनको सीमा क्षेत्र हिल्साका स्थानीय महिलाहरु घेरेपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख डिएसपी रातारात भागेका छन् ।

सिमावर्ती क्षेत्र हिल्सामा बसोबास गर्ने स्थानीयबासीसंगै सम्पूर्ण हुम्लाबासी र कर्मचारीलाई आवतजावतमा सहजता, खाद्यान्न र दैनिक उपभोग्य सामान आयातमा सहजताका लागि पहल गरी समस्या समाधान र लागु औषध ओसारपसार तथा अन्तरदेशिय अपराध नियन्त्रणका लागि चिनियाँ पक्षसंग वार्ता गर्न भदौ ८ गते प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङगानाको नेतृत्वमा ३ सदस्यीय टोली ताक्लाकोट गएको थियो । 

हिल्सास्थित नेपालीहरुले दैनिक उपभोग्य सामान र चीनमा रहेको प्रमुख धार्मिकस्थल मानसरोवर कैलाश आवतजावत सहज गराउनका लागि वार्ता नभई वार्ताका नाममा श्रीमती घुमाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरी प्रमुख जिल्ला अधिकारीको टोलीलाई हिल्सामा घेराबन्दी गरिएको थियो। 

स्थानीयबासीसंगै सम्पूर्ण हुम्लाबासी र कर्मचारीलाई आवतजावत गर्नका लागि सहज वातावरण र दैनिक उपभोग्य सामान आयातमा सहजता नभएसम्म हिल्साबाट फर्किन नदिने भन्दै हेलिकप्टर चढ्न नदिएपछि आफूसंगै मानसरोवर कैलाश दर्शनका लागि गएकी श्रीमतीलाई हिल्सा छोडेर बेलुकी ७ बजे प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङगाना र प्रहरी प्रमुख डिएसपी रबिन श्रेष्ठ भागेर हिँडेको नाम्खा गाउँपालिका १ की पेमाअंंङमु लामाले बताइन् । 

चिनियाँ पक्षले परम्परादेखि गर्दै आएको कैलाश मानसरोवरको धार्मिक यात्रामा केही बर्षदेखि प्रतिबन्ध लगाएको, सीमा क्षेत्रको ३० किलोमिटरसम्म दुबै देशका स्थानीयबासीले सहज रुपमा आवतजावत गर्न पाउने नीति अनुरुप नेपालीले आवतजावत गर्न नपाएको, हिल्सामा चिनियाँ पक्षले नेपालीलाई गरिने अपमान जस्ता विभिन्न गतिविधि हुँदासमेत दुई पक्षीय वार्तामा नेपाली वार्ता टोलीका सदस्यले कुनै वास्ता नगरेको र देशभर जहाँ बसेर पनि व्यापार व्यवसाय गर्न पाउने अधिकारलाई प्रमुख जिल्ला अधिकारीले हिल्सा नबसेर आ–आफ्नो गाउँ ठाउँमा गएर खेतीपाती गरेर बसे यस्तो समस्या नआउने भनेर आफूहरुको अधिकारमाथि नै धावा बोलेपछि हिल्साका स्थानीय महिलाहरु आक्रोशित भएर बार्ता टोली बसेको घर सीमा प्रहरी चौकी घेरा हाली आफ्नो माग पूरा नहुँदासम्म जिल्ला फर्किन नदिने भन्दै नाराबाजी गरेको लामाले बताईन् । 

जिल्लाका सिडिओ, डीएसपी, एलडिओहरुले सीमा वार्ताका नाममा आफ्ना आफन्त र श्रीमतीलाई मानसरोवर कैलाश घुमाउने सिवाय अरु कुनै उपलब्धी नगरेको नाम्खा गाउँपालिका वडा नम्बर ३ च्यादुककी  धोङजुङ लामाले बताइन् । 

दैनिक उपभोग्य सामान सहज र नेपालीहरुलाई आवत जावत सहज गरार्इ दिन माग राख्दा उल्टै गाउँमा गएर बस भनेको लामाको गुनासो छ । 

प्रमुख जिल्ला अधिकारी ढुङगानाको श्रीमतीले सीमाबासीहरुको समस्या समाधान गराउन आफू लागि पर्ने भनी प्रतिबद्धता गरेपछि हिल्साबाट छोडेको नाम्खा गाउँपालिका १ की पेमाआंंङमु लामाले बताइन् । 

सीमा सुरक्षा वार्ताका लागि हिल्सा पुगेका प्रमुख जिल्ला अधिकारीको टोलीले हिल्साबासीहरुको मागलाई लिखित रुपमा सम्बोधन हुनुपर्ने स्थानीयहरुको माग रहेको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल र सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाको पहलबाट प्रमुख जिल्ला अधिकारी ढुङगाना र प्रहरी प्रमुख रविन श्रेष्ठका श्रीमतीहरु हिल्साबाट सदरमुकाम सिमिकोट ल्याउने पहल भएको छ । 

यसै बिषयमा प्रमुख जिल्ला अधिकारीले जहाँ जहाँ मान्छे र बस्ती छ त्यहीँ गएर सबैको समस्या समाधान गर्न नसकिने उल्लेख गर्दै समस्या समाधानका लगि कार्यालयमै आउनुपर्ने भनाई राखे । 

‘सिमावासीहरुले आफ्नो माग पूरा गर्न जुन तरिका अपनाए त्यो गलत हो यसरी कसैको माग पुरा हुँदैन’, उनले भने । आफूसँग कसैले  यस्तो माग नराखेको र यसरी कसैलाई घेराबन्दी गर्न नपाइने उनले बताए । आफूहरु हिल्साबाट भागेको नभई ठाउँठाउँमा रहेका प्रहरी चौकी निरीक्षणका लागि हिँडेको प्रमुख जिल्ला अधिकारी ढुङगानाले बताए ।

यो यस बर्षको मात्र समस्या होइन बर्सेनि सीमा वार्ताका नाममा प्रमुख जिल्ला अधिकारी लगायतका टोलीहरुले आफ्ना आफन्त र श्रीमतीलाई मानसरोवर कैलाश घुमाउने र स्थानीयबासीले  दुःख पाउने परम्परा चलिरहेको छ।

चिनियाँ पक्षले वार्ताका लागि पुलिस स्टेशन प्रमुखसहित तीन जना प्रहरी अफिसर वार्ताका लागि आउन भनी निम्तो पठाएको भए पनि  वार्तामा प्रजिअ ढुङगाना, डिएसपी श्रेष्ठ र जिल्ला अनुसन्धान प्रमुख तिलक केसी दम्पत्ति वार्तामा गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ