अंग्रेज फौजलाई हराएको सम्झनामा पाल्पामा २ सय औं विजय उत्सव मनाइँदै
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ १३ बुधबार
241
Shares
पाल्पा । नेपालले अंग्रेज फौजलाई युद्धमा हराएको सम्झनामा यही भाद्र १८ गते तानसेनमा २ सयऔं विजय उत्सव मनाईदै छ । वि.स. १८७१ देखि १८७२ भएको नेपाल अंग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिर सिंह थापाले अंग्रेज फौज लाई हराउन सफल भएका थिए । बुटवलको जितगढीमा भएको युद्धमा नेपाली सेनाको फौज संग अंग्रेज सेना हार खाई फर्किनु परेको थियो ।
अंग्रेजले नेपालमा ५ स्थानबाट आक्रमण गरेकोमा बुटवल जितगढीमा पाल्पाली कमाण्डर कर्णेल उजिर सिंह थापाको नेपाली सेनाले अंग्रेज सेनालाई धपाएको थियो । कर्णेल उजिर सिंह थापाले युद्धमा लड्ने शक्ति, हिम्ममत साहसको आसिंवाद माग्दै जित हासिल गरेमा भगवती मन्दिर स्थापना गरी सिन्दुरजात्रा गर्ने बाचाँ अनुसार जितको खुसियालीमा प्रत्येक भाद्र कृष्ण नवमीको दिन तानसेनमा विजय उत्सव मनाउने प्रचलन रहदै आएको छ । वि.स. १८७६ सालदेखि अंग्रेज लाई युद्धमा हराएको सम्झनामा पाल्पामा नेपाली सेना, स्थानीयवासीको सहयोगमा विजय उत्सव स्वरुप भगवती जात्रा मनाउने प्रचलन रहदै आएको हो ।
बुटवल जितगढी युद्ध नेपालको राष्ट्रियता स्वाधिनता र सार्वभौमिकता संग गासिएकोले राष्ट्रिय रुपमै यस पर्वलाई मनाउनु पर्ने पाल्पालीहरुले आवाज उठाउदै आएका छन । आधुनिक हात हतियारका साथ युद्धमा उत्रिएका अंग्रेज फौजले नेपालको पश्चिमी भुभाग लाई काठमाडौ बाट अलग बनाएर कव्जा गर्ने रणनीतिका साथ पाल्पा आक्रमण गरेको थियो । पश्चिम नेपालको सम्पुर्ण भागको सरकारी कामकाज पाल्पा बाटै हुदै आएकोले अंग्रेज फौजले पाल्पाली फौजमाथी आक्रमण गरेको थियो । दुईपटक सम्म भएको युद्धमा पाल्पाली फौज संग हार व्यहोरेकोमा अंग्रेजी फौजका कमाण्डर जनरल उड लाई अंग्रेज सरकारले कारवाही स्वरुप घटुवा गरेको थियो ।
विजय उत्सवको २ सय औं बर्ष मनाउन भगवति मन्दिर व्यबस्थापन समिती देखि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु भव्य तयारीमा जुटेका छन । विजय उत्सवलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पुर्याउन समिति सक्रिय भएर जुटेको छ । विजय उत्सवलाई भव्य रुपमा मनाउन सवैपक्ष लागेका छन । मन्दिर व्यबस्थापन समितिले पत्रकार सम्मेलन गरी विजय उत्सवको तयारी तिव्र रुपमा भईरहेको जनाएको छ ।
समितिका अध्यक्ष राजेश्वर उदयले समितीले विजय उत्सव तथा भगवती सिन्दुरजात्राको लागी राष्ट्रपति विद्यादेवी भण्डारी देखि ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल तथा मन्त्रीहरुलाई निमन्त्रण पठाईसकेको, विजय उत्सव लाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिले नियमित रुपमा काम गर्दै आएको, विजय उत्सवको झल्को दिने गरी भदौ १७ गते साझ श्रीकृष्ण जन्माष्टमीको दिन तानसेन बजारमा अतिसवाजी गर्ने, नेपाल अंग्रेज युद्धको झल्को दिने गरी नाटक तथा भिडियो डकुमेन्ट्री प्रर्दशन गर्ने, विभिन्न जातजाती भाषाभाषीका कलासंस्कृतिको प्रदर्शन गर्ने, विभिन्न संचारमाध्यम तथा सोसल मिडियाबाट प्रत्यक्ष प्रशारण गर्ने, युद्ध जितेको खुसियालीमा तानसेन बजारमा भदौ १७ र १८ गते दिपावली गर्ने, ड्रोन क्यामेरा बाट विजय उत्सवको भिडियो खिच्ने व्यबस्था मिलाएको बताए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालय सहितका पत्रकारहरुले सोधेका विभिन्न जिज्ञासाहरुको समितीका सचिव भिमसेन कार्कीले जवाफ दिएका थिए । विजय उत्सव लाई राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा प्रचार प्रसार गरी पाल्पालाई एतिहासिक पर्यटकिय जिल्लाको रुपमा पहिचान गराउन सवैपक्ष एकजुट भएर काम गर्नुपर्ने समितीका सचिव कार्कीले बताए । राष्ट्रिय स्वाधिनता संग जोडिएको विजय उत्सव भएकाले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने माग पाल्पालीहरुको रहेको छ ।