arrow

गौराको चहलपहल शुरु

logo
टेकराज अवस्थी,
प्रकाशित २०७५ भदौ १३ बुधबार
Goura_.jpg

डडेल्धुरा । प्रदेश नं.७ को प्रसिद्ध साँस्कृतिक पर्व गौराको चहलपहल डडेल्धुरामा पनि शुरु भएको छ ।  शुक्रवारदेखि औपचारिक रुपमा शुरु हुने गौरा पर्वको तयारीका लागि ब्रतालु महिलाहरुले आफूलाई आवश्यक पर्ने लुगाफाटो र श्रृंगारका सामानहरु किनमेल गर्न स्थानीय बजार तथा जिल्ला सदरमुकाम आउने जाने क्रम बढेको छ ।

देवाधिदेव महादेव र उमा गौरी माता पार्वतीको शक्ति तथा उपासनामा आधारित हिन्दु महिलाहरुको पवित्र धार्मिक तथा साँस्कृतिक पर्व गौरा पूजनका लागि शुद्ध र चोखो तथा नयाँ बस्त्र प्रयोग गरि पतिब्रता नारीको रुपमा पूजाअनुष्ठान गर्नु पर्ने भएकोले बजारमा उपलब्ध बिभिन्न श्रृंगार सामग्रीहरुको किनमेलले डडेल्धुरा सदरमुकामको बजारमा चहलपहल वृद्धि भएको हो ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेको उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती रहि आएको छ ।

गौरा पर्वका ब्रतालु महिलाहरुले धारण गर्ने पवित्रसुत्र दुबधागो , चुरा आभुषण देखि सिलाउनु पर्ने ब्लाउज पेटिकोट र नयाँ लुगा सौल सारी लगायत बिबिध आवश्यक सामानको समयमै जोहो गर्न महिलाहरु सदरमुकामको टाढाटाढाबाट आउने गर्दछन ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा साँस्कृतिक र सामाजिक पर्व गौराको बिधिवत पूजा अर्चना दुर्वाष्ठमीका दिन सम्पन्न हुने भए पछि डडेल्धुरा सदरमुकाममा यहि २० गते देखि २३ गते सम्म प्रत्येक वर्ष जस्तै राष्ट्रिय गौरा महोत्सवको आयोजना पनि हुने गौरा महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ ।

महोत्सवमा गौरा पर्व नाँच , महिला तथा पुरुषका डेउडा , चैत धुमारी चाँचरी , ढुस्को लगायत बिभिन्न खेल एवं साँस्कृतिक झलकहरु प्रदर्शन गर्ने र हजारौं हजार जनसहभागिता रहने गौरा महोत्सव बसपार्क डडेल्धुरामा प्रतिस्पर्धात्मक डेउडा खेलबाट उत्कृष्ट हुनेलाई पुरुस्कार बितरण गर्ने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ