सरकारसँग लोकतान्त्रिक चरित्र पनि छैन, कम्युनिष्ट चरित्र पनि देखिएनः सिटौला
प्रकाशित २०७५ भदौ १३ बुधबार
534
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारसँग लोकतान्त्रिक चरित्र र कम्युनिष्ट चरित्र मध्ये कुनै पनि नभएको बताएका छन्।
बुधबार जीपी कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले राजधानीमा गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्र माथीका चुनौती’ विषयक कार्यक्रममा सिटौलाले सरकारसँग लोकतान्त्रिक चरित्र र कम्युनिष्ट चरित्र दुबै नभएको बताएका हुन् ।
‘संविधानको बाटो टेकेर बनेको सरकार त्यही बाटोलाई दुर्घटना गराउँने तर्फ अघि बढ्दैछ, यस्तो अवस्थामा राजनीति दुर्घटनातर्फ मुलुक जान्छ, सरकारसँग लोकतान्त्रिक चरित्र पनि छैन, कम्युनिष्ट चरित्र पनि देखिएन।’
सिटौलाले मुलुकमा आउँने जस्तासुकै पनि खतरा रोक्ने ताकत कांग्रेससँग मात्रै भएको समेत स्पष्ट पारे ।
‘विगत देखि नै खतरा रोक्ने लिगेसी कांग्रेसले बोक्दै आएको हो, अहिले पनि त्यो ताकत कांग्रेससँग मात्रै छ, त्यही लिगेसीबाट राजा फालेर गणतन्त्र आयो,’ नेता सिटौलाले भने ।
उनले वर्तमान सरकार संविधानले देखाएको बाटोमा टेकेर बनेको तर अहिले संविधानले देखाएकै बाटोलाई विराउँनेतर्फ अघि बढिरहेको बताए ।
सिटौलाले राज्य मै हुँ भन्ने दम्भका कारण बर्तमान सरकार ६ महिनाको छोटो अवधिमा नै बढी आलोचित भइसकेको समेत दाबी गरे ।
कांग्रेसले संस्कार, नीति र व्यवहारमा परिवर्तन गरे मात्र लोकतन्त्रलाई बलियो बनाउँन सकिने भन्दै उनले नेतृत्वले पहिले आफ्नै शैली सुधार गर्नु पर्ने तब मात्र लोकतन्त्र जोगाउँन कम्युष्टिसँग लड्न सकिने धारणा व्यक्त गरेका हुन ।
युवा नेता तथा सांसद गगन थापाले वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली प्रजातन्त्र प्राप्तीका लागि नभएर कम्युनिष्ट व्यवस्थाका लागि जेल बसेको बताए ।
‘फुलबारी भनेको तोरीबारी होइन, कम्युनिष्ट व्यवस्थाका लागि आन्दोलन गरेर जेल बसेर प्रजातन्त्रको हुंकार गर्ने व्यवहारले लोकतन्त्र बलियो हुँदैन, सरकारबाटै लोकतन्त्रमाथी खतरा छ,’ थापाले भने ।
उनले पछिल्लो समय प्रधानमन्त्रीको क्षमता माथी नै प्रश्न उठ्न थालेको बताए । ‘प्रधानमन्त्रीको क्षमता माथी नै प्रश्न उठ्न थालेको छ, उहाँले संमृद्धीको डेलिभरी गर्न सक्नुहुन्न ।’ नेता थापाले भने ।
थापाले पार्टी भित्रको पुरानो सोच बदल्ने अभियानलाई तिव्रता दिंदै लोकतन्त्र जोगाउँन सक्ने कांग्रेसको निर्माणमा सबै एक ढिक्का भएर लाग्नु पर्ने बताए ।
अर्का नेता प्रदिप पौडेलले सरकारले संविधानले प्रष्ट गरेको व्यवस्था माथी नै आक्षेप लगाउँने काम गरेको भन्दै व्यवस्था कमजोर भए निर्वाचन पद्धतीको प्रकृया नै अन्त्य हुन सक्ने खतरा रहेको औंल्याए ।
‘लोकतान्त्रिक मान्यता माथीको प्रहारले सरकार कमजोर हुँदै छ, संविधानले सुनिश्चित गरेको व्यवस्थामाथी नै आक्षेप लगाउनु व्यवस्था कमजोर बनाउँने षड्यन्त्र हो,’ नेता पौडेलले भने ।
पौडेलले सरकारका कारण, कम्युनिष्ट एकताका कारण र कमजोर प्रतिपक्षका कारण लोकतन्त्र माथी चुनौती देखा पर्न थालेको बताएका हुन ।
कार्यक्रममा मुलुकको वर्तमान राजनीतिक अवस्थाका विषयमा केन्द्रिय सदस्य शिव हुमागाइ, सांसद धना खतिवडा सहितका नेताहरुले धारणा राखेका थिए ।