‘प्रधानमन्त्रीज्यू अस्पतालको गेटबाट टुलुटुलु हेर्नुपरेपछि कुन वाद भयो ?’
एम्बुलेन्स पनि चल्न नपाएपछि
प्रकाशित २०७५ भदौ १४ बिहिबार
508
Shares
काठमाडौँ । काठमाडौं उपत्यका यतिबेला अस्तव्यस्त छ । तुलनात्मक रुपले सहर सफा छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौंथो शिखर सम्मेलनका लागि अतिथि सत्कारका लागि ठाउँठाउँमा स्वागतद्धार राखिएका छन् । फ्लेक्सले ढाकेको छ । अनि अतिथि पुग्नसक्ने सडक बर्खामासको वास्ता नगरी मज्जैले टालिएको छ ।
बिमस्टेकलाई असर नपरोस् भन्दै सरकारले बिहिबार र शुक्रबारका लागि काठमाडौं उपत्यकाका विद्यालयमा बिदा दिएको छ । तर अधिकांश निजी विद्यालय बुधबार पनि बिदा गरिए । नगरिएको भए के हुन्थ्यो ? अभिभावक भन्छन् ‘बिजोक हुन्थ्यो ।’
कसरी त ? काठमाडौंको मिनभवनमा दुई घण्टादेखि सार्वजनिक यातायात कुरेर बसेका एक जना चिन्तित अभिभावकले भने, ‘धन्यै केटाकेटीको छुट्टी रैछ नत्र मेरो त विजोग भयो उनीहरुको के हालत हुन्थ्यो होला ।’
मिनभवनमा बुधबार दिउँसो २ देखि ४ बजेसम्म सवारी कुर्नेहरु सयौंको संख्यामा बसेका थिए । यस्तो लाग्थ्यो कि ट्राफिकलाई कुनै कुराको जानकारी नै छैन र हचुवाका भरमा उसले दुःख दिइरहेको छ ।
उक्त समयमा बिम्स्टेकमा भाग लिन श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आउँदै थिए । सिरिसेनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने समय दिउँसो २ः३५ बजे राखिएको थियो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको समयमा उनको एराइभल टाइम नै २ः३५ को थियो । यसले गर्दा गौशालादेखि कोटेश्वरसम्म रिङरोडको बाटो पूर्ण रुपले बन्द गरिएको थियो ।
त्यसैगरी त्यहाँदेखि तीनकुने, मीनभवन, बबरमहल, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी अनि कलंकीसम्मको त्यो रुटमा गाडी चल्न दिइएको थिएन ।
यो रुट भएर वा क्रस भएर कतै पनि गाडी नचल्ने भएपछि यात्रु अलपत्र थिए । एयरपोर्टदेखि सोल्टी होटल (जहाँ विशिष्ट अतिथि बसेका छन्) सम्मको दूरी केवल १० मिनेटको हो । विशेष सुरक्षामा कुँद्ने गाडीको स्पिड ६० देखि ८० किलोमिटर प्रतिघण्टा हुन्छ ।
तर सही समयमा सही सूचना प्रवाह नगरी जथाभावी रुपले दुःख दिँदा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । आधा घण्टाभन्दा बढी सडक खाली गराउनु पर्ने अवस्था नरहेका अवस्थामा जनतालाई जवरजस्ती दुःख दिनु कहाँसम्मको गणतान्त्रिक सरकार ?
एम्बुलेन्सले समेत पाएनन् गुड्न
जुन समयमा सिरिसेना आउने भनिएको थियो त्यो दुई घण्टाको अवधिमा एम्बुलेन्सले समेत उक्त रुटमा गुड्न पाएनन् । भक्तपुर तिरबाट आउने गाडीलाई कोटेश्वरमा रोकिएको थियो ।
त्यसैगरी विभिन्न बीचका गल्लीहरुमा पनि प्रहरीको पहरा थियो । तर कतिबेला गाडी रोक्ने भन्ने थिएन । एक जना प्रहरी हवल्दार भन्दै थिए, ‘कतिबेला के गर्ने भन्ने आदेश नै बदलिन्छ, कहिले गाडी छोड् भन्छ कहिले रोक् भन्छ, मिनेट मिनेटमा माथिबाट आदेश फरक भइरहेको छ ।’
ट्राफिक प्रहरीले छिनछिनमा मोटरसाइकल र साना निजी सवारीलाई छिनछिनमा एक मिनेटका लागि छाड्ने गरेको थियो । तर एक ठाउँबाट छाडे पनि अर्का ठाउँबाट फेरि भित्रि गल्लीमा पठाइँदै आएका थियो ।
अत्यावश्यकीय सवारी साधन गुड्न दिने भनिएको थियो । तर दुर्भाग्य अस्पतालमा रहेका विरामीको समेत के विजोग भएहोला ? मिनभवनमा रहेको निजामति अस्पतालको मुख्य द्धार नै बन्द गरेर राखिएको थियो । न बिरामी भित्र जान पाउने न बाहिर निस्कन सक्ने ।
संचारमाध्यमका सवारीलाई समेत बर्जित गरिएको थियो । पीडित एक युवाले आक्रोश पोख्दै भने, ‘अमेरिकामा बाराक ओबामा राष्ट्रपति भएकै बेलामा आरामले हिंड्थे यहाँका भ्रष्ट मन्त्रीहरु बाटोमा हिँडेभने जनताले कुटीकुटी मार्छन् भन्ने डर छ अनि विदेशीलाई पनि अत्याउने गरी सुरक्षा दिइरहेका छन् ।’
देशको अहिलेको वस्तुभाउबारे जानकारी दिँदै अर्का एक युवाले भीडमा थपे, ‘बलात्कारी पक्रिन्न, हत्यारालाई समात्दैन, सुरक्षा कसैको छैन, यहाँ हेलिकोप्टर फन्काइरहेको छ ।’
एक पाका वृद्धले पनि सुइसुइ र खुइखुई गर्दै आफ्ना खुट्टा बजार्दै हिंड्दै थिए । उनले पनि प्वाक्क बोलिहाले, ‘यो सरकार अधिनायकबाद लगाउँदैछ भन्थे हो कि क्याहो जस्तो भा’छ ।’
निजामति अस्पतालको गेटभित्रबाट बाहिर निस्कन नपाएका एक पीडित भन्दै थिए ‘अस्पतालको गेटबाट टुलुटुलु हेर्नुपरेपछि अधिनायकबाद आएन र ?’ साँच्चै प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले आफूहरुलाई नभएका आरोप लगाएको भनिरहेका छन् । उनका हरेक भाषणमा विपक्षीलाई गाली गरिएकै हुन्छ ।
अहिलेका जनताका आवश्यकता पूरा गर्नुभन्दा प्रधानमन्त्री ओली बोलीको प्रतिस्पर्धामा १८ घण्टासम्म निरन्तर बोलिरहेका छन् । उनी जहाँ जान्छन् त्यहाँको सडक पनि यसरी नै अवरुद्ध बनाइदिन्छन् ।
गणतन्त्र सरकारकी राष्ट्रपति विद्यादेवी भण्डारी बाहिर निस्कँदा पनि जनताले दुःख पाएकै हुन्छन् । गणतन्त्र आएको अनुभूति गर्नुभन्दा पनि सरकारको रबैयाले जनताले दुःख पाएको अनुभूत गर्न थालिएको छ ।
एम्बुलेन्सले कुर्नुपर्ने, संचारमाध्यमले समाचार संकलनका लागि संघर्ष गर्नुपर्ने र अस्पतालको गेटबाट टुलुटुलु हेर्नुपरेपछि अधिनायकबाद आएन र प्रधानमन्त्रीज्यू ?
लामो समय अनावश्यक तरिकाले सडक ओहोरदोहोरसमेत गर्न नदिएपछि सर्वसाधारणले ‘यसरी दुःख दिएर अलपत्र पार्न भन्दा त कर्फ्यु लगाएको भए भैहाल्थ्यो नि’ भन्दै सरकारप्रति आक्रोश पोखेका थिए ।