काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेक शिखर सम्मेलनका लागि बिहिबार बिहान काठमाडौं आइपुगेका छन्। बिमस्टेकका लागि बिहिबारै बिहान बंगलादेशी प्रधानमन्त्री र थाइल्याण्डका प्रधानमन्त्री पनि आउने क्रममा छन्।
यसैबीच मोदीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जान खोजेका युवाहरु बीच बाटोमै रोकिएका छन्। उनलाई नेपाल फाउन्डेसनका युवाहरुले स्वागत गर्न खोजेका थिए। मोदीकै तस्वीर भएको जर्सी र विमस्टेकको जर्सीमा सजिएका उनीहरुलाई सुरक्षाकर्मीले एयरपोर्ट जानबाट रोकेको थियो। त्यसपछि तीनकुनेमा आयोजना गर्न खोजे पनि दिइएन।
ग्रेटर नेपालका फणिन्द्र नेपाल मोदीलाई कालोझण्डा देखाउनका लागि गएपछि उनलाई प्रहरीले पक्राउ गरेपछि सुरक्षाकर्मीले सुरक्षा बढाएको थियो।त्यही घानमा नेपाल फाउन्डेशन पनि परेको बुझिएको छ। फाउन्डेशनका अध्यक्ष विकास ठाकुरले आफूहरुले लामो समयदेखि नेपाल–भारत सम्बन्ध मजबुद बनाउनका लागि काम गर्दै आइरहेको अवस्थामा भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न नपाउँदा दुःख लागेको बताए।
बिमस्टेकमा आउने विशिष्ट अतिथिका लागि सरकारले विशेष सुरक्षा व्यवस्था अपनाएको छ। चारै सुरक्षा निकाय खटिएका छन् भने हवाइ गस्तीसमेत भइरहेको छ।