निर्मला हत्या प्रकरण: प्रहरीले गोली हानेका अर्जुनको अझै होस् आएन, बेहोसमै काटियो दायाँ खुट्टा
घाईतेलाई हेरेन सरकारले, समाजसेवी र नागरिक समाजले गरे सहयोग
प्रकाशित २०७५ भदौ १४ बिहिबार
870
Shares
काठमाडौं। १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका बेला प्रहरीको गोली लागेर घाईते भएकाको उपचारमा सरकारले ढिलासुस्ती गरेको भेटिएको छ ।
घाईतेलाई प्रदेश ७ कै युवाहरुले सहयोग गरेर उपचार गराएका छन् । आन्दोलनका क्रममा घाईते भएका मध्ये ५ जनालाई काठमाडौं ल्याईएको थियो। काठमाडौँ ल्याईएकाहरुको कन्तविजोग भयो । कांग्रेस कार्यकर्ता एवं समाजसेवी सुरेन्द्र देउवाका पहलमा घाईतेको उपचार भएको छ। देउवाले आफु पनि सहयोग गरे भने, सहयोगका लागि आह्वान गरे । र, समन्वय पनि । देउवाका साथै प्रदेश ७ का विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा लगायतले स्वास्थ्य लाभको कामना गर्दै सहयोग गरेका छन् ।
उनकै पहलमा उपचार भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याईएका पाँच जना मध्ये तीन जना घर फर्किएका छन् । तेजराज भट्ट, चेतन भट्ट र मञ्जु गिरी घर फर्किएका हुन् ।
तर, सरकारले उपचार गर्न ल्याएको ८ दिनपछि विहिबार मात्र घाईतेलाई उपचारको पेश्की स्वरुप केही आर्थिक सहायता दिएको छ । तेजराज र चेतनले त्यही पेश्की स्वरुप दिएको रकम पनि पाएनन्। कारण, उनीहरु सरकारले आर्थिक सहायता दिनु एक दिन अघि नै उनीहरु डिस्चार्ज भईसकेका थिए। उनीहरु फेरि जाँच गराउने गरी घर फर्किएका हुन् । राम्ररी निको भईसकेका थिएनन् । तर, अस्पतालको शय्या अभाव, आर्थिक अभाव लगायत कारणले उनीहरु छिट्टै घर फर्किएका सहयोगीहरुले बताएका छन् ।
अब दुई जना अर्जुन भण्डारा र उमेश देउवा त्रिवि शिक्षण अस्पतालमा छन्। अर्जुनको अहिलेसम्म होस् आएको छैन। होसमा नभएका अर्जुनको दायाँ खुट्टा काटिएको छ। उनको दायाँ खुट्टामा प्रहरीले प्रहार गरेको गोली लागेको थियो । अर्जुनको अवस्था निकै नाजुक रहेको चिकित्सकले बताएका छन् ।
सरकारले उनको उपचारका लागि पेश्की स्वरुप डेढ लाख रुपैँया दिएको छ । यस्तै, खुट्टाको शल्यक्रिया गरेका उमेश देउवालाई सरकारले अहिले तत्काललाई एक लाख दिएको छ । उनको हातको गोली भने निकाल्नै बाँकी छ । मन्जु गिरी विहिबार डिस्चार्ज हुँदा, उनको हातमा सरकारले जम्मा ५० हजार पारेको छ ।
गएको साउन १० गते बलात्कारपछि हत्या गरिएकी पन्तका हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरको भीमदत्तनगरमा चर्किएको आन्दोलनबीच प्रहरीले गोली चलाउँदा सन्नी खुनाको मृत्यु भएको थियो भने, पाँच जना सख्त घाईते भएका थिए । प्रहरीले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई सार्वजनिक गरेपछि आन्दोलन थप चर्किएको थियो ।