जनताको पक्षमा काम गर्नुहोस्ः महामन्त्री डा कोइराला
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
535
Shares
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताको हितमा काम गर्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन्।
कांग्रेसबाट जितिएका नगरपालिकाका प्रमुख तथा उपप्रमुखको सम्मानमा हिजो साँझ दिएको रात्रीभोजमा उनले भने, “तपाईहरुले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ, त्यसैले पार्टी बलियो हुने गरी जनअपेक्षाअनुसार काम गर्नुहोस्।” महामन्त्री कोइरालाले जनताले प्रत्यक्ष अनुभव हुने काम गरेमात्र कांग्रेसप्रति जनताको विश्वास बढ्ने पनि बताए।
कांग्रेसले मुलुकभर एक सय ९१ वटा नगरपालिका प्रमुख तथा उपप्रमुखमा जित हासिल गरेको थियो। सो अवसरमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, प्रमुख सचेतक बालकृष्ण खाँडलगायत केन्द्रीय सदस्य, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा पदाधिकारीको सहभागिता थियो। रासस