arrow

तीनकुनेले खर्च मात्रै गरायो, भएन मनोरञ्जन  

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
long-live-bimstec.jpg

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनका लागि काठमाडौं सिंगारिएको छ। काठमाडौं उपत्यकामा देखिएका कमजोरी ढाकिँदै छ। पाहुनाले कुरा काट्लान् भनेर फलामको भाँडोमा सुनको नक्कली जपल लगाएर सरकारले काठमाडौंलाई टल्काइरहेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि, सोल्टी होटल, रत्नपार्कदेखि राष्ट्रपति भवन, चावहिलदेखि हायात होटल, थापाथलीदेखि कुपण्डोल हुँदै पाटन दरबार क्षेत्रको सडक सिंगारिएको छ। सडक छेउका फुटपाथमा रातारात ब्लक छापिएको छ भने पोलमा जेलिएको तार हटाइएको छ।

यसै अवसरमा सबै पाहुनाको पहिलो नजर पर्ने तीनकुनेको खाली जग्गालाई भने ढाकछोपमात्र गरिएको छ। त्यो तीनकुने पार्क हो। तर पार्कलाई व्यवस्थित गरिएको छैन। जस्ता र वाहिरबाट बिमस्टेकको प्रचार झल्कने गरी फ्लेक्सले बारिएको छ।

नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय सम्मेलन भए भने यो पार्कले ढाकिने अवसर पाउँछ। पटक पटक लाखौंको खर्च गराइरहेको छ त्यो खाली जग्गाले। 

२०६० सालदेखि काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको सो पार्क चार वर्षअघि सम्पन्न १८ औ सार्क शिखर सम्मेलनकै बेला जस्ताले बारिएको थियो।

स्थानीयसंग मुआब्जा विवाद नमिल्दा उक्त पार्क बन्न नसकेको बताइन्छ। त्यतिबेला महानगरपालिकामा जनप्रतिनिधि थिएनन्। अहिले जनप्रतिनिधि छन्।

कामपाका तत्कालिन कार्यकारी अधिकृत ईश्वरराज पौडेलको कार्यकालमा पार्कको बीच भागमा झण्डा र वरिपरी फुटपाथसहित नयाँ डिजाइनको पार्क बनाउने योजना तय गरिएको थियो। करिब २० लाख रुपैयाँ लागतमा पार्क बनाउने तयारी भएको थियो। तत्कालिन मेयर केशव स्थापितको कार्यकालमा पार्कमा बनेका भवन लगायतका संरचना हटाइएको थियो। 

बीचभागमा बुद्ध वा मञ्जुश्रीको सालिक राख्ने गरी पार्क बनाउने पटक पटकको योजना विफल बन्दै गएपछि कामपाले बीच भागमा झण्डा सहितको सामान्य पार्क बनाउने योजना बनाएको थियो। त्यतिबेला २० लाखको योजना अहिले दोब्बर पुग्न थालिसकेको छ। यो जग्गा त्यत्तिकै नोक्सान भइरहेको छ। सदूपयोग हुन सकेको छैन।

यस्तै क्षणिक जस्तापाताले बार्दै फाल्दै गरेर खर्च बढाइरहेको छ। स्थानीय प्रतिनिधि हुँदासमेत यो जग्गाको सदूपयोग नहुनु अहिलेको सरकारप्रति नै ठूलो ब्यङ्ग्य बन्न गएको छ। पार्क निर्माण गर्न सकेको भए कामविहीन देखिएको स्थलले राम्रो बिजनेश पाउने थियो भने मनोरञ्जनपूर्ण पनि हुने थियो। यसलाई स्थायीरुपमा पार्क बनाउन सक्ने हो भने पटक पटक खर्च हुने पनि थिएन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ