arrow

कन्चनपुर घटनाका घाइतेको बकपत्र : बरु शहीद हुन पाएको भए हुन्थ्यो !

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
anju.JPG

काठमाडौं । प्रहरीको लाठी, लात्ति र टियरग्यासले अचेत बनाउने दिन श्रीमान् दानी गिरीले जाँदै नजाऊ आन्दोलनमा भनेका थिए । तर, हठि स्वभावकी मन्जुले श्रीमान्को कुरा खाइनन् । निर्मलाको हत्यारालाई सजाय दिलाउनु पर्ने माग सहित २४ दिनसम्म आन्दोलन गर्दा पनि कसैले वास्ता नगर्न उनको मनभित्रको आगो झन् झन् दन्किएको थियो । हत्यारा फेला पार्न पाए चिमोटेरै मार्ने थियौं जस्तो लाग्ने । 

भदौं ५ गते बिहानैदेखि भीमदत्त नगरस्थित प्रहरी प्रशासन र जिल्ला प्रहरी कार्यालयअगाडी स्थानीय भेला भइसकेका थिए । भोकै थिइन् उनी । सधैं जसो महिलाले मात्रै आन्दोलन गर्दा गर्दै एक खालले हरेश खाने अवस्था पनि आइसकेको थियो । ५ गते विहान मान्छेको ओइरो देखेपछि उनको जोश उम्लियो । प्रहरी प्रमुख दिल्लीराज विष्ट, घटना सामसुम पार्न रकम खाएका भनिएकाहरु, आशंका गरिएकाहरुविरुद्ध चर्का नारा लागेको थियो । उनी त्यही भिडमा मिसिइन् । महिला, व्यापारी, विद्यार्थी, गाउँघरका सबै जोशिला बनेका थिए । प्रहरी पनि तयारी अवस्थामा देखिन्थ्यो सुरक्षा कवच, हतियार सहित । 

२४ दिनदेखिको आन्दोलनमा देखिरहेका प्रहरीले उनलाई सजिलै चिन्थे । प्रहरी बहाना खोजिरहेको थियो । त्यो दिनका आन्दोलनकारीको दाबी छ, प्रहरी नै सिभिल ड्रेसमा पसेर भिडबाट ढुंगा हान्न थाले । हतियार र लाठा सहित तैनाथ प्रहरी अश्रुग्यास बर्साउँदै अगाडी बढ्यो । प्रदर्शनकारीको भागदौड मच्चिन थाल्यो । पुलिसले आँखै देखेन । जो फेलापर्छ त्यहीमाथि लाठा हान्न थाल्यो । उनी भाग्दै थिइन् । त्यही बेला चप्पल फुत्कियो । फरक्क फर्केर चप्पल टिप्नमात्रै के लागेकी थिइन्, उनको कपाल प्रहरीले च्याप्पै समातेर लडायो । अनि घुँडा र पातोमा लाठा हान्यो । आठ दश पठकसम्म बुट र लाठि हानेको याद छ, त्यसपछि उनले केही थाहा पाइनन् । होसमा आउँदा उनी नालीमा थिइन् । त्यही आडमा धुवाँ आइरहेको थियो । घस्रेर केही पर पुगिन् । प्रहरी पछि हटेको रहेछ । केही दिदी बहिनीले उचालेर रिक्सामा हाले अनि महाकाली अञ्चल अस्पताल लगे  । 

मन्जुको भीमदत्त–१८ सालघारीमा सानो किराना पसल छ । उनी आमा समूहसहित सदाबहार, चौतारी महिला विकास समित र सामाजिक काममा सक्रिय छन् । महिला अधिकारका लागि खट्छिन्, विशेष गरी । निर्मला हत्याकाण्डा दोषीमाथि कार्वाहीको माग गर्दा उनको जीउ थिलथिलो बन्यो । दाहिने भाग ठीक, देब्रेपट्टि चलाउन हुँदैन । घुँटा र कुहिनोमा काम्रो बाँधिएको छ। घाँटीमा ठूलो दर्द छ । 

अञ्चल अस्पतालले उनलाई धनगढी अस्पाल लैजान रिफर गरिदियो । त्यहाँ चेकजाँच गरे । डाक्टरले भर्ना भएर बस्नुपर्छ त भनेका थिए । तर, हेर्ने मान्छे कोही नभएपछि भोली पल्ट साँझ उनी फेरी महाकाली अञ्चल अस्पताल नै फर्किइन् । अस्पतालमा डाक्टर र नर्सहरु दिनको दुई पल्ट आउँथे, हेर्थे । व्यवहार राम्रै गर्थे । 

न नेता न अधिकारकर्मीः 
भदौ ५ देखि ११ गतेसम्म मन्जु अस्पताल बसिन् । तर, यो अवधिमा समूहका दिदिबहिनी बाहेक अरु कोही उनलाई भेट्न पुुगेनन् । भोट दिएर जिताएका जनप्रतिनिधिहरु समेत कुनै बिरामीलाई भेट्न अस्पताल पुगेको उनलाई थाहा छैन । निर्मला हत्याकाण्ड सामसुम पार्न नगर प्रमुख सुरेन्द्र बहादुर विष्ट, महिला प्रतिनिधि कमला देवकोटा, वडा अध्यक्ष राजेन्द्र पाण्ड लगायतले भूमिका खेलेको भन्दै प्रदर्शनकारी उनीहरुसँग आक्रोशित थिए । उनीहरु न आन्दोलनमा सहभागि भए, न घाइते कसैलाई भेट्न पुगे ।

तर, आन्दोलनलाई समर्थन गर्छौं भनेर कुर्लिएका नेपाली काँग्रेस, नयाँ शक्ति, विवेकशील साझा लगायत दलका नेता कार्यकर्ता पनि घाइतेलाई भेट्न नआएको घाईते बताए ।  अधिकारकर्मीहरुले पनि घाइतेहरुलाई चासो नदिएको मन्जुको गुनासो छ । उनी थप उपचारका लागि काठमाडौं महाराजगञ्जको टिचिङ अस्पताल भर्ना भईन् । ८ दिनपछि उनको विहिबार मात्रै डिस्चार्ज भएको छ ।  

घाइतेको स्थिति : 
भदौ ८ गते सनी खुनाको प्रहरीको गोली लागेर मृत्यु भएकै दिन ३० जनाभन्दा बढी घाइते भएका थिए । त्यसअघि र पछिका प्रदर्शनका क्रममा पनि थुप्रै घाइते भएका थिए। आन्दोलन स्वतः स्फूर्त रुपमा भएकोले घाइतेहरुको यकिन तथ्यांक संकलन हुन सकेको छैन । सरकारले सबै घाइतेको निशुल्क उपचार गर्ने बताएको छ । घाइतेले सरकारको तर्फबाट आवश्यक सहयोग पाएका छैनन् । यद्यपि, ढिलो गरी सरकारले विहिबार काठमाडौं ल्याईएका केही घाईतेलाई उपचारका लागि भन्दै प्रारम्भिक आर्थिक सहायता दिएको छ । 
केहीले त्यो रकम पनि पाएनन् । उनीहरुले स्थानीय र चिनजानका व्यक्ति भेटघाटमा आएको बेला उनीहरुले दिने सहयोगबाट उपचार गराउँदै आएका छन् । कन्चनपुर बलात्कार घटनाको बिरोध गर्दै राजधानी काठमाडौंमा पनि ठूलो जुलुस, सभा भए । सामाजिक अभियान्त, सामाजिक संजाल प्रयोगकर्ताले ठूलै माहोल सिर्जना गरे, चर्का कुरा गरे । तर न्यायका लागि लडाइँ लड्दा अंगभंग भएका घाइतेको उपचार खर्चका लागि रकमको जोहो गर्न कसैले चासो देखाएको छैन । 

मन्जु गिरीको शरीरको दायाँ भाग चलाउन भएको छैन । अस्पतालमा भिड भएका कारण अस्पताल छेवैमा होटलको कोठा भाडामा लिएर बसिन् । कुरुवा थिईन् भदैनी रेखा ।  आर्थिक अवस्था कमजोर छ । पछि सद्दे हुने नहुने ठेगान छैन । तर श्रीमान्ले आन्दोलनमा नजाऊ भनेको नमानेर गल्ती गरेको अझै पनि उनलाई लाग्दैन । भन्छिन् : ‘‘सनी खुनाको ठाउँमा खासमा म हुन पाएको भए हुन्थ्यो जस्तो लाग्छ । न्यायका लागि लडाइँ लड्दा शहीद त हुन पाउने थिएँ” !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ