जापानले छुट्यायो सुरक्षा क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
323
Shares
काठमाडौं । जापानको सुरक्षा मन्त्रालयले सुरक्षाको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा बढी रकम खर्च गर्ने प्रस्ताव अघि सारेको छ । पछिल्लो समय उत्तर कोरिया र चीनबाट देखिएको चुनौतीलाई पार लगाउनका लागि जापान सुरक्षा क्षेत्रमा खर्च बढाउने पक्षमा देखिएको हो ।
आगामी अप्रिलबाट सुरु हुने आर्थिक वर्षका लागि जापानले ४७ अर्ब अमेरिकी डलरबराबरको रकम सुरक्षाको क्षेत्रमा खर्च गर्ने तयारी गरेको हो । वार्षिक हिसाबमा यो रकममा २.१ प्रतिशतले वृद्धि गरिन लागेको हो ।
जापानमा अहिले प्रस्ताव गरिएको सुरक्षा बजेटमा मिसाइल सुरक्षाको लागि मात्र तीन अर्ब ८० करोड डलरको खर्च बढाइने तयारी भइरहेको हो । यस वर्षको अन्तिममा सरकारले आफ्नो सुरक्षाको सबै योजनाहरु समेटेर संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
अहिले जापान अमेरिकासँग मिलेर आफ्नो मिसाइल रोक्ने क्षमता विस्तार गर्ने दिशामा अघि बढिरहेको हो । त्यसका साथै फाइटर विमानहरुको क्षमतामा पनि अभिवृद्धि गर्ने जापानको नयाँ योजनामा उल्लेख गरिएको छ । जापान पछिल्लो समय आफ्नो मिसाइल सुरक्षाको क्षेत्रमा गम्भीर भएर अघि बढिरहेको छ ।
सन् २०१८ को सुरुवाती अवधिमा उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले जापानमाथिको त्रास बढाएको हो । सन् २०१६ यता उत्तर कोरियाले ४० ओटा मिसाइलहरु परीक्षण गरिसकेको छ । जसको कारण जापानलगायतका मुलुकहरु उसँग सशंकित बनेका हुन् । त्यसका साथै चीनसँग दक्षिण चीन सागरमा चीनको बढ्दो प्रभावलाई कम गर्नका लागि पनि यस किसिमको योजना अघि सारेका हुन् ।
जापानले ४८ करोड डलरको एफ–१५ फाइटर विमान खरिदको योजना पनि अघि सारेको छ । त्यसका साथै जापानले आफ्नो बजेटमा ८३ करोड डलरको अन्तरिक्ष तथा साइबर सुरक्षाको योजना अघि सारेको छ । (एजेन्सी)