निर्मला प्रकरणसँगै कञ्चनपुरमा अर्को पाशविक घटना : १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
610
Shares
कञ्चनपुर । कञ्चनपुमा बलात्कारका घटनाहरु दिनानुदिन बढ्दै गएका छन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको छानबिन नहुदै कञ्चनपुरकी अर्की किशोरी फेरी सामुहिक बलात्कारको सिकार भएकी छिन् ।
बिहिबार राती कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाकी १६ बर्षिय किशोरीमाथि सामुहिक बलात्कार भएको हो । किशोरीको घरमा पुजा भएकाले चार युवक उनको घरमा आएका थिए । युवतीलाई घरबाट झण्डै ४ किलोमिटर दुरी टाढा लगेर सामुहिक बलात्कार गरेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्र बहादुर बमले बालिकाको घरमा पुजा चलिरहेका बेला मोटरसाईकलमा गएका चार युवकले फोन गरेर बालिकालाई सडकमा बोलाएर बलात्कार गरेको बताए ।
सडकका पुगेकी ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ती युवकहरुले घरदेखि अर्को गाँउ जब्दा भन्ने ठाँउमा गरेर सामुहिक बलात्कार गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् ।
‘बलात्कार गरेर चारै युवक भागे, बालिकाको दुई युवकसंग चिनजान थियो, ‘बालिकालाई उदृत गर्दै बेल्डाँडी प्रमुख बमले भने, ‘पीडित बालिकाले प्रहरीमा दिएको बयान अनुसार घटनामा संलग्न चारै जना युवक फरार छन् ।’ फरार चारै जनाको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको मेडिकल गराउन प्रहरीले तयारी गरेको छ । ‘बालिका सुरक्षित छिन्, ‘बेल्डाँडी प्रहरी प्रमुख बमले भने, ‘ठुलो घटनाबाट जोगियो ।’ बालिकाका परिवारले राती १ बजेपछि बालिका हराएपछि उनको खोजीका लागि घरदेखि हिडेका थिए । परिवारले घटना स्थल क्षेत्रमै बालिका फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीलाई खबर हुनासाथ प्रहरी घटनाबाट उनको उद्दार गरेको थियो । राती झण्डै तीन घण्टासम्म बालिकालाई युवकहरुले आफ्नै नियन्त्रणमा लिएको खुल्नमा आएको छ । घटनाको बिस्तृत विवरण आउन बाकी छ । यस बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।