arrow

बिम्स्टेकमा सैन्य अभ्यासको कुरा किन घुसाए मोदीले ?

‘अमेरिकाले चीन र सोभियत संघविरुद्ध आसियान उठाए जस्तै अघाेषित खेलखण्ड’ 

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
modi_hamrakura.jpg

काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ।

जसको मूख्य आकर्षण रहे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। उनी सम्मेलनमा भारतका प्रस्ताव राख्दा राख्दै बिम्स्टेकको कार्यक्षेत्र भन्दा बाहिर गए। बिम्स्टेकका १४ कार्यक्षेत्रमा प्रतिआतंकवाद र संगठित अपराध पर्दछ। तर, सैन्य अभ्यास पर्दैन। उनले संयुक्त सैन्य अभ्यासको कुरा घुसाईदिए। उनलाई सैन्य अभ्यासबारे बोल्न सजिलो भने नेपाली सेनाले नै पारिदिएको हो। बिम्स्टेक सम्मेलन अघि नै नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले यो कुरा सार्वजनिक गरिसकेका थिए। 

मोदीले आउने महिना भारतमा बिम्स्टेक सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय भएको कुरा मतव्यमा घुसाए। मोदीको यो प्रस्तावले बिम्स्टेक सम्मेलनको अध्यक्षता गरेका केपी शर्मा ओलीले गरेको रक्षालाई पूर्ण रुपमा चुनौती दियो । उनले, ‘बिम्स्टेक सार्कको विकल्प होईन’, भनेका थिए । 

मोदीलाई सैन्य अभ्यासमार्फत पाकिस्तान र चीनलाई रणनीतिक सन्देश दिन खोजेको आरोप लागेको छ। ‘यो अभ्यास आतंकवाद नियन्त्रण, विपद् व्यवस्थापन र अन्तरदेशीय अपराध नियन्त्रणका लागि हो,’ मोदीले भने । भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले ब्लु इकोनोमी र माउन्टेन इकोनोमीका विषयमा पनि चर्चा गरे । भारतले समुद्रसँग जोडिएको अर्थतन्त्र ब्लु इकोनोमी र नेपालले हिमालसँग जोडिएको अर्थतन्त्र माउन्टेन इकोनोमीलाई बिमस्टेकको मुख्य प्राथमिकतामा राख्न प्रस्ताव गरेसँगै यो क्षेत्रीय संगठनको सहकार्यका १४ क्षेत्र बढेर अब १६ भएका छन् । 

सैन्य अभ्यासको कुरा कहाँबाट घुस्यो ? 
अहिले जुन बिम्स्टेकमा सैन्य अभ्यासको कुरा आयो । यो भन्दा पहिलेको ईतिहास हामीले हेर्नुपर्छ। कुनै बेला चीन र सोभियतसंघका विरुद्धमा अमेरिकाले आसियानलाई प्रयोग गर्न खोज्यो। आसियानलाई त्यसरी नै बढाईएको हो। त्यसपछि अर्को संगठन पनि बन्यो। त्यसलाईत नाङ्गो रुपमा एन्टि सोभियत संघ र एन्टि चाईना कार्डको रुपमा प्रयोग गरियो। तर, त्यो सफल भएन। 

तर, अहिले पश्चिमाहरुसँग विशेषतः अमेरिकासँग चीनको व्यापार युद्ध सुरु भएको छ। यसले अझै उग्र रुप लिने सम्भावना छ। त्यो मात्रै होईन साउथ चाईना सीले अमेरिका र चीनबीच सामरिक समस्या उत्पन्न भएको छ। कतिबेला कहाँको समस्या विष्फोट हुने हो भन्ने निश्चित छैन। यस्तो अवस्थामा नेपालमा अहिलेसम्म नसुनेका, अस्तित्व नभएका, कोही मान्छे पक्राउ नपरेका आधा दर्जन मुस्लिम संगठनको आरोप लगाएर आतंकवाद खतरा छ, भनेर जब सेनाका मान्छेहरु बोले त्यो एउटा ह्वीम सिर्जना गर्ने उद्देश्य थियो । यो सैन्य अभ्यासको औचित्य देखाउन पनि त्यो वक्तव्य आएको हो । 

नेपाल जस्तो यत्रो सानो देशमा लस्कर ए तोएबा कहाँ छ ? अरु आतंकवादी कति पक्राउ परे, कति मारिए ? खै ? कुन कुन संगठनको सूची बनाएका छन्। अनि रोहिंग्याको कुरा गरौँ। बंगलादेशबाट भारत छिरेका रोहिंग्याहरु अमेरिका र भारतीयहरुले नेपाल छिराएका छन् । कता लुकाए ? हामीले त्यही कुरा लेखेको हो । बर्मा हुँदै बंगलादेश आएका रोहिंग्यालाई भारतबाट नेपाल पठाउने यीनिहरु नै, स्वीकृति दिने पनि यहीकै मान्छेहरु हुन्। आफैले ल्याएका रोहिंग्यालाई भाँडो बनाएर प्रतिआतंकवादमा सहकार्य गर्ने भनेर बोल्ने ? यो एउटा ग्याङ बनाउने खेल हो। जसरी दोस्रो विश्व युद्धपछि शीत युद्धको समयमा आसियान जस्ता संगठनलाई अमेरिकाले चीन र सोभियत संघविरुद्ध बढाउन सुरु गरेको थियो, ठ्याक्कै त्यही मोडल हो यो। अरु केही पनि होईन। त्यो मोडलबाट बिम्स्टेकलाई कसरी लैजाने भन्ने कुरामा लिडरसिप भारतको छ।

होलान् केही स्वार्थहरु, चीनसँगपनि उसले डिल गर्नुपर्छ, पाकिस्तानसँग पनि गर्नुपर्छ। किनकी, वारपार गरेर हुने स्थिति छैन। अब जुन विश्वप्यापी लडाई हो। त्यो लडाईमा भारत पश्चिमाहरुको साथमा छ। चीनसँग नजिक कहिल्यै पनि हुँदैन। चीन ठूलो अर्थतन्त्र भएको देश । भारत कसरी माथि जाने भनेर सोचिरहेको छ । यो दुईबीच हुने प्रतिस्पर्धा यही हो। सुरक्षा तथा सीमा विवाद प्रमुख कुरा छ, त्यसैले सैन्य अभ्यासको कुरा आईरहेको छ। सैन्य अभ्यासको कुरा आकस्मिक रुपमा आयो। आतंकवादको समस्या रोक्नका लागि हामीले सुरक्षाका दृष्टिकोणबाट सहकार्य गरेको हो, भन्छन् उनीहरु। बहाना आतंकवाद तर, उद्देश्य अघोषित सैनिक गठबन्धन। जुन गठबन्धनलाई भोलि आफु अनुकुल प्रयोग गर्न पाईयोस्, भन्ने हो। 

बिम्स्टेकमा विश्वास नराख्ने ? 
बिम्स्टेक स्थापना १९९७ मै भयो। यसको सम्मेलन र यसबारेको बुझाई महत्वपूर्ण हो। अहिलेसम्म यसको घोषणापत्र बनेको छैन। गएको २१ वर्षसम्म यसको घोषणापत्र बनेन। विधान पनि छैन। यसले कुनै एउटा काम पनि गरेको छैन। बिचबिचमा मन्त्रीस्तरीय बैठक बस्ने, यो सहित चार वटा सम्मेलन भयो। जम्मा हुने र गफगाफ गर्ने थलो मात्रै भयो। तर, एक्कासी जुन तामझाम देखियो। र, योसँग जोडिएका मुद्दाहरु केही बाहिर आईरहेका छन्। यसको सन्दर्भलाई ठिक ढंगले नहेरेर यो बिम्स्टेक कुन दिशातिर लान खोजिएको छ भनेर बुझिँदैन। 

एउटा कुरा स्पस्ट के हुन्छ भने, यो सम्मेलनमा जुन तामझाम देखियो, सार्कको घाँटी निमोठ्ने गरी आएको छ। लामो समय सार्कको बैठक अवरुद्ध गरेर बिम्स्टेकलाई अघि बढाउने गतिविधि देखियो। बिम्स्टेकको नाममा आफ्नो हाली मुहाली गर्ने सोच भारतको छ। 

यसलाई जुन ढंगले उत्साहपूर्वक र यसले पहिले नै के के गरेको जस्तो अतिरन्जना गरियो। बंगालको खाडी वरीपरीका देशहरुमा यसले ठूलै उपलब्धी हासिल गरेको भन्ने हिसाबले प्रचार गरेर जुन मनोविज्ञान ल्याउन खोजियो । बिम्स्टेक भन्दा १२ वर्ष पूरानो संस्था सार्कलाई सिध्याउनु त भएन नि ! अन्तर्राष्ट्रिय सम्बन्ध भनेको पावरको लडाई हो । 

कनेक्टिभिटी त बिम्स्टेकले नै पूरा गर्छ रे नि त ?
यहाँका मान्छेहरु कस्ता हुन्छन् भने सडकमा हुँदा ठूला कुरा गर्ने । र, कतै जागिर खाने माहोल बन्दैछ भने, यस्ता विविध कुराहरु गर्छन्। यसलाई विश्व राजनीतिको पार्टसँग जोडेर हेर्न सकिएन भने यस्ता विषय केही पनि बुझिँदैन। अहिले गरिएका ठूला कुरा सार्कमा पनि भए। सार्कलाई चर्चामा ल्याउने कुरा पनि यहीबाट भएका हुन् । कुरा रहयो कनेक्टिभिटीको । एउटा भूपरिवेष्टित मुलुकका हैसियतले भारतसँग बाटोको कुरा राख्न सकिएको छैन । यसैले यति ठूला कुरा गर्छ।

कनेक्टिभिटी भनेको के ? जस्तो बंगालको खाडीलाई केन्द्रविन्दु बनाएर यदी हामी कनेक्टिभिटीको कुरा गर्छौँ भने, नेपालले जबसम्म बंगालको खाडीसम्म पुग्ने बाटो पाउँदैन नि ! त्यो बेलासम्म यहाँका मान्छेले त्यस्ता कुरा गर्दै नगरे हुन्छ। कनेक्टिभिटी भने पनि जे भने पनि भोलि भारतप्रति त हामी निर्भर हुनै पर्छ। बाटो नबन्दासम्म भारतलाई रिस उठेको दिन त रोकिदिन्छ। अहिलेपनि कोलकता बन्दरगाहबाट आउने सामानहरु कसरी फस्छन् ? कसरी रुन्छन यहाँका व्यापारीहरु ? सोझै बंगलादेश जाने बाटो खै ? भारत भएरै जानु पर्ने हो ।

बंगलादेश जाने बाटो नपाउँदासम्म कनेक्टिभिटीको कुनै अर्थ छैन । बंगलादेशसम्म जाने बाटो नभई हामी कनेक्टिभिटीमा जान सक्दैनौ भन्ने कुरा सम्मेलनमा उठाउन सक्नु पर्दथ्यो भएन ? यी ७ वटा देशमा रहेका समस्या नसुल्झाई यस्तो कुरा गर्न हुन्छ। जस्तो बर्मा र बंगलादेशबीच रोहिंग्याको समस्या छ। १० लाख रोहिंग्या बंगलादेश पुगेका छन्। नेपाल–भारतकै समस्या छन्। भुटान भारतका समस्या छन्। मान्छेलाई बराल्ने काम गर्नु हुँदैन। –विश्लेषक भरत दाहालसँगको कुराकानीमा आधाररित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ