काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको सेनानी सम्मान पुरस्कार कांग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ।
करिव ५ बर्षदेखि अचेत अवस्थामा घरमै उपचार गराइरहेका बास्तोलालाई प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिए बापत सो पुरस्कार दिने जनाएको छ। पुरस्कारको राशी पचास हजार रुपैयाँ रहेको छ।
प्रत्येक बर्ष बीपी जयन्तीका अवसरमा ट्रष्टले बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ। एक लाख एक हजार राशीसहितको बीपी साहित्य सम्मान पुरस्कार भने यस बर्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई दिने निर्णय भएको छ।
ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. धुव्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट निर्णय गरिएको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताए।
दुवै पुरस्कारहरु बीपी जयन्तिको अवसरमा बीपी ट्रष्टद्धारा २२ भदौमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा नेपालका प्रगम राष्ट्रपति डा. रामबरण यादवले प्रदान गर्नेछन्।
यसअघि २०७१ मा साहित्य सम्मान वरिष्ठ साहित्यकार रत्नशमशेर थापा र सेनानी सम्मान नुतन थपलियालाई तथा २०७२ सालको साहित्यकार गोपाल पराजुलीलाई र सेनानी तारानाथ कोइरालालाई प्रदान गरिएको थियो।
२०७३ सालमा यो साहितय सम्मान पुरस्कार साहित्यकार भुवन ढुगाना तथा सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई र गत बर्ष २०७४ को साहित्यतर्फ डा. अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरिएको थियो।
ट्रष्टको अध्यक्षमा बीपी पुत्र श्रीहर्ष कोइराला छन् भने पदाधिकारी तथा सदस्यहरुमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, पूर्वसभाषद्हरु रामचन्द्र पोख्रेल, पुरुषोत्तम बस्नेत, पूर्व सासदहरु किरण यादब र सुशीलमान शेरचन, बरिष्ठ साहित्यकार धुर्वचन्द्र गौतम र डा. ज्ञानु पाण्डे छन्।