arrow

के हो थिमिमा मनाइने १२ वर्षे नीलबाराही नाच ?

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
nilbarahi.JPG

भक्तपुर । बोडेमा १२ वर्षे नीलबाराही नाच यसपाली विशेष रुपमा समापन भएको छ । भक्तपुरको मध्यपुर थिमिको वडा ८ र ९ मा प्रत्येक वर्ष गाइजात्राका भोलीपल्टदेखि देखाइने यो नाच निरन्तर रुपमा सञ्चालन हुदै आएको छ । उपत्यकाका विभिन्न नाच बेलाबेलामा रोक्दै र हराउर्दै गएपनि यो नाच भने निरन्तर सञ्चालन भइरहेको छ ।

आर्थिक अभाव र जनशक्ति अभाव लगायतका समस्याले झेल्दै गएपनि निरन्तर रुपमा नाच भने सञ्चालन हुदै आएको छ । मध्यराती १२ बजेदेखि सुरु भई परम्परागत नियममा बा“धिएर दैनिक १० देखि १४ घन्टासम्म देखाइएको छ ।

दैनिक १० घण्टाभन्दा बढी नाचिरहनुपर्ने यो अवधिमा सहभागि १९  कलाकारहरुले नाच अवधिभर खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ ।

१५ दिन अघिदेखि मूलघरमा सिकाईदै आएको यो नाच राती, बिहान र दिउँसो गरी टोलटोलको चोकचोकमा देखाईने गरिन्छ । गाईजात्राको भोलिपल्ट मध्यरातदेखि सुरु गरिने यो नाच यसपाली बाह्र वर्षे भएकाले चार दिनसम्म सञ्चालन भएको हो । 

यो नाँच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भागुटोल, खोंसी टोल, नीलबाराही स्थान हुदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।   

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह हुन्छ । देवता १९ जना, गुरु ६ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने ९ जना गरी यो नाचमा १ सय जनाभन्दा बढी व्यक्ति सहभागि हुनेछन् ।

भक्तपुरको नवदुर्गा नाचसंगै नीलबाराही नाच सुरु भएको हुनसक्ने स्थानीयको भनाई छ । नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानिय एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरि राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाए पछि यो नाच सुरु भएको किम्बदंन्ती छ 

जात्राको पहिलो दिन मध्यरातमा सुरु भई भोली बिहान सकिन्छ । दोस्रो दिनभने बिहान चार बजे सुरु भएर साँझ सम्पन्न हुन्छ भने तेस्रो दिन बिहान सुरु भएर साँझ सम्पन्न हुने परम्परा रहेको छ । नाच देवता घरबाट निकालिन्छ । आर्थिक समस्याका कारण देवगणमा देवता बन्न चाहनेको संख्या घट्दै गएकोमा स्थानियले चिन्ता ब्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ