arrow

डाक्टरहरु मेडिकल काउन्सीलमा धमाधम लाईसेन्स बुझाउँदै 

काउन्सील दर्ता २१ हजार, नेपालमा क्रियाशील १३ हजार ?, बाँकी डाक्टर पलायन

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
dr_kc4.JPG

काठमाडौं । मुलुकी अपराध संहितामा रहेको व्यवस्था संशोधनको माग गर्दै आन्दोलित भएका चिकित्सकहरुले आफूलाई नेपाल मेडिकल काउन्सीलले दिएको अनुमति पत्र अर्थात् लाईसेन्स बुझाउन थालेका छन् । 

नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलका अनुसार आइतबारदेखि चिकित्सकहरुले लाईसेन्स बुझाउन थालेका हुन् । उनले भने, ‘यो एउटा सांकेतिक विरोध हो । चिकित्सकको घाँटीमा तरबार झुण्ड्याइएपछि हामी मेडिकल काउन्सिलको सदस्य रहँदैनौँ अरु नै पेशातिर जान्छौँ भनेर सांकेतिक विरोधका लागि हामीले प्रमाणपत्र बुझाएका हौँ । यसको अर्थ हामीले प्रमाणपत्र बुझाएर उपचार भन्दा बाहिर रहेको र सेवाभन्दा बाहिर रहेको भन्ने होईन ।’ सरकारले आफूहरुले गरेको मागबारे चासो नदिएका कारण दबाबका लागि विरोधको विभिन्न शैली अपनाउनु परेको उनले बताए । 

कुनै संस्था वा व्यक्तिले उपचार गर्दा कुनै गल्ती भए त्यसको लागि सम्बन्धित निकायले छानविन गरेर दण्डित गर्ने व्यवस्था हुँदा हुँदै मुलुकी अपराध संहिताको व्यवस्थाले उपचारमा संलग्न चिकित्सकलाई अपराधी कररा गर्ने व्यवस्था राखेकामा हाम्रो आपत्ति हो, उनले भनेका छन् । अहिले हामीले सांकेतिक विरोध स्वरुप प्रमाणपत्र बुझाएका हौँ, उनले भने, ‘सेवा पनि दिईरहेका छौँ । भोलि माग सम्बोधन नभए सँधैको लागि त्याग्नु पर्ने पनि हुन्छ ।’

नेपाल मेडिकल काउन्सीलबाट अहिलेसम्म दर्ता हुन आउने चिकित्सक २१ हजार बढी छन् । तर, नेपालमा क्रियाशील १३–१४ हजार मात्रै छन् । बाँकि कोही विदेश हानिए । कसैको मृत्यु भयो । कोही अन्यत्र पलायन भए । अहिले लागू भएको मुलुकी अपराध संहिताको व्यवस्थाले काम गरिरहेकै चिकित्सकहरु आन्दोलित भएका छन् ।   

नेपाल चिकित्सक संघको आह्वानमा आईतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प रहे । काठमाडौंमा प्रदर्शन समेत भयो ।  गएको भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचार गर्दा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भए अथवा अंगभंग भए पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुने भनिएको छ । चिकित्सकहरुले त्यो व्यवस्था संशोधनको माग गरिरहेका छन् ।

जंगबहादुर राणाले बनाएको मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भए वा अंगभंग भए कैद र जरिवानाको व्यवस्था गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ