arrow

डाक्टरहरु किन हच्किए सक्कली लाइसेन्स बुझाउन ? 

यस्ता छन् कारण  

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
medical1.jpg

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार बिहानसम्म मुलुकभरका विभिन्न १६ शाखाबाट संकलन गरेको झण्डै ६ हजार लाइसेन्सका सक्कल प्रति नै मेडिकल काउन्सिलमा बुझाइने बताउँदै आएको थियो । 

तर संघ  एकाएक पछि हट्यो । दिउँसो काउन्सिल पुगेर लाइसेन्सका नक्कल बुझाएर फर्कियो । किन त ?

यस्ता छन् कारण 
१. चिकित्सक संघले मन्त्रालयबाट कडा सूचना आउँछ भन्ने अघिल्लै दिन भेउ पाइसकेको थियो । नभन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक्कासी कडा खालको सार्वजनिक सूचना निकाल्यो । सूचनामा भन्योः चिकित्सकहरुको मागको सम्बन्धमा मन्त्रालयको तर्फबाट सकारात्मक पहल भइरहेको छ । यो मौसम प्राकृतिक प्रकोप बाढी, पहिरो, सरूवा तथा संक्रामक रोगले प्रभावित पार्ने समय हो ।

त्यसैले देशभरीका सबै स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कामकाजमा उपस्थित हुन, बिदा समेत नलिन, अनुमति नलिइ अनुपस्थित नहुन र कुनै पनि किसिमका बन्द हडताल नगर्न नगराउन अनुरोध छ’। भनेको नमानेको पाइए अत्यावश्यक सेवा ऐनको दफा ४ अनुसार कारबाही गरिनेछ । 

अत्यावश्यक सेवा ऐनको दफा ४ मा ‘निषेध गरिएको कुनै हडताल कुनै व्यक्तिले गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 

संघका पदाधिकारीवीच गम्भीर छलफल भयो अब के गर्ने ? सरकारलाई कसैको डर छैन। भर पनि छैन । डा गोविन्द केसीलाई जुम्लाबाट उडाएर ल्याउन अस्पतालमै टियर ग्यास र लाठी हान्न लगाउने सरकारले डाक्टरहरुलाई कार्वाही गर्न कुनै आइतबार कुर्न पर्दैन । त्यसैले सोचौं । 

२. ओरिजिनल लाइसेन्स नै बुझाइ सकेपछि भोलीपल्टदेखि काम गर्ने बाटो नै बन्द हुन्छ। लाइसेन्स बुझाएमा भोलीदेखि अस्पताल जाने बाटो बन्द हुनसक्छ । बिरामी जाँच्न पाइँदैन। सर्वसाधारण भइन्छ । लाइसेन्स नै बुझाइदिएपछि के को आधारमा डाक्टर ? आन्दोलनकारी डाक्टर भनेर भोली कहीँ कतै कामै गर्न नपाउने गरी सरकारले निर्णय ग-यो भने ? त्यसैले कही दिन सोचौं ।

३. स्वास्थ्य मन्त्रालयको सूचनामै सकारात्मक पहल भइरहेको उल्लेख छ । पहल हुँदैछ भन्दा भन्दै लाइसेन्स बुझाएमा गलत सन्देश जानसक्छ । अर्कोतिर सामाजिक संजालमा डाक्टरको आन्दोलनप्रति नकारात्मक सन्देश बढ्दैछ । नियतबस ज्यान मार्ने, गलत उपचार गर्ने डाक्टरलाई जेल हाल्दा के फरक पर्छ ? भन्ने खालका प्रश्न उठेका छन् । त्यसैले केही दिन कुरौं, सक्कली लाइसेन्स बुझाउन हतार नगरौं । 

४. सरकारी अस्पताल, स्वास्थ्य संस्थामा काम गर्ने अधिकांश डाक्टरहरु नीजि अस्पताल र क्लिनिकमा पनि काम गर्छन् । लाइसेन्स बुझाइसकेपछि नीजिमा काम गर्न पाउने कि नपाउने ? सरकारबाटै झन् खराब सन्देश प्रवाह हुनसक्छ । त्यसैले यतिबेला प्रतिलिपि मात्रै बुझाऔं ।

संघले यसअघि नै अपराध संहिताका प्रावधान संशोधन गर्न १५ गतेसम्मको अल्टिमेटम दिइसकेको थियो । तर सरकारले वास्ता गरेन । त्यसैले कम्तिमा आन्दोलनलाई निरन्तरता दिनु पर्छ भन्ने टुंगोमा संघ पुग्यो । आइतबार बिहान माइतिघर मण्डलामा पुग्नुअघि नै चिकित्सक संघले सक्कल होइन लाइसेन्सको नक्कलप्रति बुझाउने निधो गरिसकेको थियो । त्यही अनुसार केही पदाधिकारी सहित दिउँसो मेडिकल काउन्सिल पुगेका नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले काउन्सिलका कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्सको फोटोकपि बुझाएको हो । के अब सक्कली लाइसेन्स बुझाउने कार्यक्रम रद्द भयो ? संघका एकजना पदाधिकारी भन्छन्, ‘त्यसबारे तत्काल सोचिहाल्ने अबस्था अहिले अल्लि छैन’ । कहिले सोच्ने त ? भन्छन् ‘हेरौं सरकार अब कसरी प्रस्तुत हुन्छ, त्यसैमा भरपर्छ’ । मानौं, तपाईंहरुको मागको सुनुवाइ नहुनेभयो ! ‘त्यतिबेलै हुन्छ नि कुरा’ । 

काउन्सिलका अनुसार मुलुकभर २२ हजार डाक्टरले लाइसेन्स लिएका छन् । तीमध्ये १३ हजार जति कार्यरत छन् । 

संघले घोषणा गरेका बाँकी कार्यक्रम जारी राख्ने बताएको छ । 
भदौं १८ गते सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द,
भदौ १९ गते मंगलबारदेखि आकस्मिक बाहेकका बिरामी भर्ना बन्द, 
भदौ २० गते बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेशन बन्द,
भदौ २१ गते बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द, 
भदौ २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ