गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा गठित नेपाली काँग्रेसको छायाँ सरकारले जनप्रतिनिधि र उपभोक्ता समितिले गरेका विकासका योजनाको अनुगमन कार्यलाई प्राथमिकतामा साथ अघि बढाएको छ ।
नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारले आर्थिक वर्ष २०७४–०७५ का कार्यन्वयन भएका विकासका योजना जनता सामु पुगे नपुगेको र योजनाको सुशासन र पारदर्शिताको अवस्था जानकारी लिने र यदि गलत काम भएको अबस्थामा कानुनी उपचारमा समेत दबाब दिने उद्धेश्यले यो अभियान शुरु गरिएको हो ।
योजना तर्जुमा लेखाजोखा गर्ने, कुनै योजना बीचैमा हराउन नदिने, भ्रष्टाचार र अनियमिततामा अनुगमन गर्ने उदेश्यले यो कार्यक्रमको सुरुवात गरिएको छायाँ सरकार प्रमुख उपेन्द्र अर्यालले बताए ।
हाल छायाँ सरकारले मालिका गाउँपालिकामा सञ्चालित आधा दर्जन भन्दा बढी योजनाहरुको अनुगमन गरिसकेपछि सम्पूर्ण वडाहरुको अनुगमन र छलफल पश्चात पत्रकार मार्फत सबैलाई जानकारी गराउने प्रमुख अर्यालले बताएका छन् ।
वडा कार्यालयको मात्र अनुगमन नगरी वडामा गरिएका निर्णयहरुको कार्यान्वयन भएको छ कि छैन त्यसलाई विशेष ध्यान दिने अनुगमन टोली रेखाकुमार जिसीले बताएका छन् ।
गुल्मी जिल्लामा स्थानिय तहमा भएका विकासको गतिबिधिको रेखदेख गर्न नेपाली काँग्रेस गुल्मीले जिल्लाका सवै स्थानिय तहमा छायाँ सरकार समेत गठन गरेको छ ।
स्थानिय तहमा सुशासन र पारदर्शिता ल्याउन, ढिलासुस्ती हटाउन जिल्ला भर नै छायाँ सरकारले अनुगमन गरेको नेपाली काँग्रेस गुल्मीले बताएको छ ।