केपी ओलीका तारा खसाउने कुरामा रामचन्द्र पौडेलको कटाक्ष
पौडेलले भने, ' तारा खसाउने कुरा हैन पत्याउने खालको विकास चाहिएको छ '
प्रकाशित २०७५ भदौ १९ मंगलबार
431
Shares
दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले काम भन्दा बढी कुरा गर्न थालेको बताएका छन्।
तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाललाई अहिले पत्याउने खालको विकासका काम चाहिएको तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिडेको बताए।
बरिष्ठ नेता पौडेलले भने–‘ प्रधानमन्त्री केपी ओलीको पनि काम भन्दा बढि बोली मात्रै देखिएको छ। नेपाललाई अहिले पत्याउने खालको विकास चाहिएको हो। तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिडेका छन् ।’
वरिष्ठ नेता पौडेलले बर्तमान सरकारले ठुला आयोजना र काम सुरु भएका आयोजनाहरुलाई अलपत्र पारेर नालायकीपन देखाएको बताए। पौडेलले भने ‘तनहुँका गाँउ गाँउमा धेरै बाटाहरुको डिपिआर भएको थियो । तर चुनावका बेलामा चुनाव प्रभावित हुन्छ भनेर विकासका काम गर्न रोकियो । त्यो बेलामा तत्कालिन एमालेका नेताहरुले विकासका काम रोके । व्यास परासर पर्यटन गुरुयोजना बनाएका थियौ । त्यो काम पनि अलपत्र परेको छ ।’
नेता पौडेलले नेपालको आर्थिक समृद्धिका आधारहरु भनेको कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तीको विकास भएको बताए। उनले ७० वर्षदेखि टुंगो लाग्न नसकेको व्यवस्थाको टुंगो लागेको बताउदै अब मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने बताए। मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टहरुको शासन सुरु भएकाले जनताले धोका पाउने हो कि भन्ने शंका उब्जिएको उल्लेख गरे।