arrow

पाटनमा भीमसेन जात्रा : गाइजात्राको रुटमा नगर परिक्रमा 

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
patan_jatra.JPG

ललितपुर । व्यापारीले शुभ देवताका रुपमा पुजिने ललितपुरको पाटनमा मंगलबार भीमसेन जात्रा मनाइदैछ । पाटनमा रहेका चार प्रमुख भीमसेन मध्ये एक मंगलबजारको भीमसेन देवताको मूर्ति खटमा राखेर जात्रा हुन लागेको हो ।

हरेक वर्ष भाद्र  कृष्ण नवमीका दिन पाटनमा भीमसेनजात्रा मनाउने गरिएको छ । जात्राका लागि  बिहान २ बजेतिर जात्रा गर्ने  भीमसेनको मूर्तिलाई निकालिएको मंगल टोल सुधार संघका अध्यक्ष किरणमान  चित्रकारले  बताए । 

यसरी जात्राको लागि भीमसेनको मूर्ति लिन जाँदा आँखा चिम्लेर अध्यारो कोठाबाट झिक्नुपर्ने र हातमा पर्नासाथ मूर्तिलाई रातो कपडाले छोपेर ल्याइने गरिन्छ । 

त्यसपछि मूर्तिलाई  अमात्य गुथियारहरुले विशेष श्रृंगार गर्ने परम्परा छ । श्रृंगारको  अन्तिममा मूर्तिमा आँखा कोरिन्छ । यसरी आँखा कोरिदा पनि मूर्तिलाई नहेरिकन कोरिने गरिन्छ । जात्रा गरिने भीमसेनलाई मन्दिरको माथिल्लो तलाबाट झिकेर मन्दिरको पछाडीको सत्तलमा राखेर रंगरोगन गरि सजाउने काम हुन्छ ।

त्यसपछि पट्कोका राजोपाध्यायले तान्त्रिक बिधीबाट मूर्तिलाई विशेष पूजा गरेर प्राण प्रतिष्ठापन गर्दछन् । त्यसपछि देबताको  तान्त्रिक बिधी अनुसार जिबन्यास पूजा गरिन्छ  । त्यसपछि मात्र जात्राको धार्मिक विधि सुरु गरिन्छ । मंगलबार बेलुका झिसमिसे अध्यारोपछि साढे ७ बजे खटमा राखेर पाटनको विभिन्न ठाँउमा परिक्रमा गरिन्छ । 

भिमसेनलाई पाटनको गाइजात्राको रुटमा परिक्रमा गराउने चलन छ  । धातुको बिशेष खटमा राखिएको भिमसेनलाई मंगलबजारबाट सौगल, ओकुबहाल , हौगल , तिच्छुगल्ली , पुर्णचण्डी , पिम्बहाल कुम्भेश्वर हुदै मंगलबजार पुगेर समापन हुन्छ । बासनादार धुपबालेर प्रत्येक टोलबासीले  विशेष महत्व राखेर  भिमसेनलाई स्वागत गर्छन ।

यो जात्रालाई जनसहभागिताको हिसाबमा ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा पछिको दोश्रो ठूलो जात्राको रुपमा लिइन्छ । जात्रामा प्रयोग हुने धातुको खट पनि अरु जात्रामा प्रयोग हुने खट भन्दा फरक छ । पाटनको भीमसेनजात्रामा काठमाडौं, भक्तपुर र थिमीका व्यापारीले क्षमा पूजा गरेर सरिक हुने गर्दछन् । विशेष गरेर व्यापारीले भीमसेनलाई व्यापार व्यवसायको देवताको रुपमा लिएर पूज्ने गर्दछन् ।

भिमसेन जात्रा मंगलबारका दिन मनाएपनि भिमसेन पुजा भने माघ १४ गते मनाउने तयारी छ ।  भिमसेन जात्रामा देबताको मुर्तिलाई खटमा राखेर नगर परिक्रमा गरिन्छ भने भिमसेन पुजामा नगरबासीहरु नै भिमसेनलाई मनपर्ने समयबजी लगायतका सामग्री लिएर २६ स्थानका भिमसेन लगायतका मन्दिरहरुमा परिक्रमा गरिन्छ ।  

ललितपुरका प्रमुख ४ भिमसेन लगायत २६ वटा भिमसेन मन्दिर परिक्रमा गरिने यो यात्रामा हजारौ भक्तजनहरु बिभिन्न टोलबाट समुहमा समयबजी लगायतका परिकार चढाएर नगर परिक्रमा गर्दछन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ