निर्मला प्रकरणमा सरकारले पिडकलाई संरक्षण दिन खोज्यो : डा. रिजाल
'सरकारले दोषी लुकाउने प्रयास नगरोस्'
प्रकाशित २०७५ भदौ १९ मंगलबार
364
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पछिल्लो समय देशमा भइरहेका महिला हिंसा र बलात्कारको घटनाप्रति सरकार गम्भीर नभएको अरोप लगाएका छन् । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई सरकारले लामो समयसम्म पक्राउ नगरेर संरक्षण दिएको जिकिर गरे ।
“कञ्चनपुर घटनामा सरकारको भूमिका कहालीलाग्दो छ । समाजलाई सुरक्षित बनाउने कामभन्दा पनि बलात्कारीलाई संरक्षण गर्नेतिर सरकार केन्द्रित भएको छ । दोषी लुकाउने प्रयास नगरियोस् ।” रिजालले भने ।
बलात्कारका घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा सजायँ दिलाउन उनले सरकारको ध्यानाकर्षणसमेत गराए ।
नेता रिजालले अहिलेको सरकार असफलताको बाटोमा हिँडिरहेको जिकिर गरे। “सरकार सफल हुने बाटोमा छैन । चुनौतिका साथ भन्छु, अहिलेसम्म यो सरकारले के चाँही राम्रो काम गरेको छ, देखाओस् ।” रिजालले भने ।
दुई तिहाईको सरकारलाई काम गर्नका लागि अनुकूल वातावरण भएपनि त्यसको सदुपयोग गर्न नसकेको तर्क गरे । विकास निर्माण र समृद्धिको क्षेत्रमा सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको रिजालको दावी छ ।
सरकारले अदालत, संवैधानिक निकाय, प्रेस, चिकित्सा क्षेत्र लगायतमा अंकूश लगाउन खोजेको रिजालको तर्क छ ।
रिजालले पछिल्लो समय कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गरेको दावीसमेत गरे । “संसदमा १ चौथाई पनि संख्या नभएको कांग्रेसले जति भूमिका खेल्नुपथ्र्यो त्योभन्दा बढि खेलेको छ । तर सरकार गम्भीर बन्न सकेको छैन ।” उनले भने ।
सरकारले विकास र समृद्धिको बाटा समातेको खण्डमा कांग्रेसले सहयोग गर्ने रिजालको भनाई थियो ।
नेता रिजालले मुलुकी ऐनमा भएका केही विषयलाई संशोधन गर्न सकिने बताएका छन् । गल्ती सच्याउनुपर्ने भन्दै उनले यसका लागि सरकार तयार हुनुपर्ने बताए । संविधानसँग बाझिएका कुरा अदालतले स्वतः खारेज गर्ने भएकाले बेलैमा संशोधन गरेर संविधानसँग नबाझिने गरी ऐन कार्यान्वयन सहज बनाउनुपर्ने उनको सुझाब छ ।