न्युज कारोबारका समाचार सम्पादक कुँवर कार्यकक्षबाटै पक्राउ
प्रकाशित २०७५ भदौ १९ मंगलबार
861
Shares
काठमाडौं । न्युज कारोबार डट कमका समाचार सम्पादक नवराज कुँवरलाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । भदौ १ देखि लागु भएको मुलुकी फौजदारी तथा देवानी (संहिता) ऐन, २०७४ का कारण पत्रकारहरुमाथि धरपकड हुन सक्ने र त्यसले जनताको सुसूचित हुन पाउने अधिकार हनन् हुने भनेर व्यापक विरोध भइरहेका बेला कुँवरलाई प्रहरीले समाचार र सामाजिक सञ्जालको विषयलाई लिएर पक्राउ गरेको हो ।
उदयपुरस्थित बेलका नगरपालिकाका स्थानीयबासी कुँवरले पछिल्लो समय उक्त नगरपालिकामा भएका अनियमितता र केही गलत कार्यका विरुद्ध आवाज उठाउँदै आएका थिए । कुँवरले त्यहाँ भएका कतिपय गलत कार्यहरु अनलाईन तथा फेसबुक लगायतका सामाजिक सञ्जालबाट उठाउँदै आएका थिए । सोही विषयलाई आधार बनाएर प्रहरीले कुँवरलाई समाचार कक्षबाटै पक्राउ गरेको हो ।
बेलका नगरपालिकामा केही समय अघि नगरपालिकाका उपप्रमुख र वडाध्यक्षको सम्बन्धलाई लिएर व्यापक चर्चा भइरहेको थियो । साथै नगरपालिकामा भएका थप केही कार्यको पनि जनचासो चुलिएको थियो । उक्त समाचारलाई कुँवरले निरन्तर ‘फलो अप’ गर्दै आएका थिए । सोही विषयमा कुँवरको फलो अप र सामाजिक सञ्जालबाट गलत कार्यको विरोधका कारण प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका कुँवरलाई प्रहरीले टेकुमा राखेको छ ।
संहिताका केही प्रावधानले पत्रकारको घाँटी निमोठ्ने भनेर व्यापक विरोध र आलोचना भइरहँदा सत्तारुढ दलका नेताहरुले पत्रकारहरुका विषयमा यो कानुन आकर्षित हुँदैन भन्दै आएका थिए । तर, समाचार सम्पादक कुँवर पक्राउ परिसकेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कुँवरलाई पक्राउ पुर्जी दिएर पक्राउ गरेको छ कारोवारन्यूजले जनाएको छ ।
बेलका नगरपालिकामा उपप्रमुख र वडाध्यक्षको सम्बन्धलाई लिएर न्युज कारोबार डटकममा समाचार प्रकाशित भएको थियो । नगरपालिकामा उक्त प्रकरणमा छानबिन गर्नका लागि छानविन समितिसमेत निर्माण भइसकेको छ । यसरी विवादित वनेको विषयमा प्रहरीले कुवँरलाई पक्राउ गरेको हो ।
पक्राउ परेपछि समाचार सम्पादक कुँवरले फेसबुकमार्फत प्रतिक्रिया दिएका छन् । कुँवरले फेसबुकमा लेखेका छन्, ‘बेलकाका उपमेयर र वडाध्यक्ष प्रकरणमा मलाई र रोयललाई पक्राउ गरेको छ । अहिले टेकुमा ।’ रोयल अनलाइनखबर डटकमका पत्रकार हुन् ।