सैन्य अभ्यासबारे बोल्नु पर्ने रक्षामन्त्री चुपचाप, परराष्ट्रमन्त्रीलाई त्यसै खसखस
सेना भन्छ, ‘सैन्य अभ्यास हुन्छ-परराष्ट्रले चिन्ता गर्नु पर्ने विषय नै होइन’
प्रकाशित २०७५ भदौ २० बुधबार
778
Shares
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन पहिले संयुक्त सैन्य अभ्यास हुँदैन भने । फेरि उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को चाैथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको प्रष्टिकरण दिएका छन् ।
अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु भन्छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट्याईसकेपछि उनले फेरि त्यही विषय किन बोल्नु पर्ने ?’ मंगलबार प्रधानमन्त्री केपीले यो विषयमा प्रष्टिकरण दिइसकेका छन् ।
ज्ञवालीले प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी दिँदै बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल भएको छैन भने । भदौ १४ र १५ गते काठमाडौँमा सो सम्मेलन भएको थियो ।
नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको जनाउँदै उनले ‘बिम्स्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य अभ्यासबारे कुनै छलफल भएको छैन ।’’
समिति सदस्य भीम रावलले सम्मेलनको उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महीनाको अन्तिम साता भारतमा संयुक्त सैन्य अभ्यासका लागि आफूले स्वागत गर्ने भनी मन्तव्य दिएको र नेपालको सम्बन्धित निकायले पनि त्यहाँ सैन्य टोली जाने तयारी गरेको आफ्नो जानकारीमा आएको जिकिर गर्दै त्यस्तो अभ्यास बिम्स्टेकको अवधारणा प्रतिकूल हुने बताए ।
यस्तै, समिति सदस्य डा नारायण खड्काले बिम्स्टेक सम्मेलनका विषयमा समितिमा विस्तृत छलफल गर्नुपर्ने भएकाले अर्काे बैठकको माग गरे ।
परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बिम्स्टेकका सदस्य मुलुुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले सम्बोधनका क्रममा व्यक्त गरेका सबै धारणा साझा हुन नसक्ने भन्दै बचाउ गरे ।
सैन्य अभ्यास हुन्छ, परराष्ट्रलाई अनुमति मागिरहनु पर्दैन
परराष्ट्रमन्त्री ज्ञवाली केही दिन यता सैन्य अभ्यासबारे बोलिरहेका छन् । तर, यसबारे प्रोटोकल के हो ? परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले यो विषयमा आफुलाई थाहा नभएको बताए । उनले परराष्ट्रमन्त्रीको निजी सचिवालयलाई सोध्न भने । निजी सचिवालय पनि अनविज्ञ रहयो ।
नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले कुरा प्रष्ट्याईदिए । सैन्य अभ्यास हुन्छ । अहिले पनि भईरहेको छ, उनले भने, ‘सैन्य अभ्यास हुने कुरा हामीले पहिले नै भनेका हौै । यो डिप्लोम्याटिक विषय होईन । मेरो जानकारीमा अहिलेसम्म हामीले कुनै पनि अभ्यास गर्दा अथवा संयुक्त काम गर्दा परराष्ट्रलाई सोधिएको छैन । यो विषयमा पनि सोधिरहनु पर्दैन ।’ यो परराष्ट्रले चिन्ता गर्नु पर्ने विषय नै होइन ।
तर, उनले रक्षामन्त्रालयबाट भने स्वीकृत गराउनु पर्ने बताए । कुरा सफाट छ । यो विषयमा परराष्ट्रमन्त्री बोलिरहन आवश्यक छैन । सैनिक प्रवक्ता भण्डारीका अनुसार सेनासँग कनेक्टिभिटी र क्रस बोर्डरको कुरा पनि जोडिन्छ । तर, अहिलेसम्म आफुहरुले परराष्ट्रलाई सोधेको रेकर्ड छैन, भन्छन् उनी । उनका अनुसार प्रतिआतंकवादविरुद्धको अभ्यासमा परराष्ट्र मामिलाको कुरा आउँदैन ।
उनको भनाईबाट सिधै कुरा जोडियो रक्षामन्त्रालयसँग । रक्षामन्त्री ईश्वर पोखरेल यो विषयमा केही बोलेका छैनन् । प्रधानमन्त्री ओलीले विदेशी पाहुनाको स्वागत गर्ने जिम्मा भने उपप्रधानन्त्री समेत रहेका पोखरेललाई नै दिए । विदेशी पाहुनालाई लिन विमानस्थल जानेमा आफै खटिए रक्षामन्त्री पोखरेल, एक सुरक्षा कमाण्ड जस्तै । अर्कोतिर बिम्स्टेकको सुरक्षा व्यवस्थाको नेतृत्व सेनालाई नै दिईयो । यसले पनि केही कुराको संकेत गर्छ ।
त्यतिमात्र होईन संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदा प्रधानमन्त्री ओलीले बिम्स्टेकको सुरक्षा व्यवस्थामा कहीँ पनि ल्यास्सेस भेटिएन र हामीले गरेर देखाईदियौँ, भन्नुले पनि संकेत गर्छ ।
उनले नेपाली सेनाको नाम लिए तर, अन्य सुरक्षानिकायको नाम नलिई खाली सुुरक्षाकर्मी भने । उनले ‘नेपाली सेना र सुरक्षाकर्मीहरुले आफ्नो प्रभावकारीता देखाए’ भने । स्कर्टिङ गर्दा आफ्नै एक सुरक्षाकर्मीको गालामा चोट लाग्यो, तर अरुलाई लाग्न दिईएन, उनले भने, ‘यत्रो ईभेन्ट हुँदा कहीँ कतै कुनै प्रकारको घटना भएन । यसले सुरक्षा क्षमता प्रष्ट भएन र व्यवहारबाट ।’
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल लगायतलाई पक्राउ गर्नु, विप्लव, सीके राउतका कार्यकर्तामाथि कडा निगरानी राख्नु, सुरक्षाको नेतृत्वको जिम्मा सेनालाई दिनु, विदेशी पाहुनालाई लिन रक्षामन्त्रीलाई खटाउनु, भारतीय प्रधानमन्त्रीले प्रतिआतंकवाद र अन्तरदेशीय सीमा अपराधबारे कुरा गर्दा संयुक्त सैन्य अभ्यासको कुरा राख्नुले केही न केही संकेत गरेको छ । ता कि बिम्स्टेकभित्र अघाेषित सैन्य गठबन्धन गर्न खाेजिएकाेतिर । प्रधानमन्त्री अाेलीले भने सामान्य सैनिक अभ्यास बाहेक कुनै पनि खालकाे नयाँ कुरा भएकै छैन । उनले बिम्स्टेकलाई मिलेट्री प्याक्ट बनाउन खाेजिएकाे हाेईन भनेका छन् । नेपाल त्यस्ताे मिलेट्री प्याक्टबारे साेच्दैन र कसैले बनाएकामा पनि पस्दैन समेत अाेलीले भनेका छन् ।
तर, प्रधानमन्त्री ओलीले केही दिन अघि सम्पादकहरुलाई बालुवाटार बोलाएर नेपालमाथि गम्भीर षड्यन्त्र भईरहेको छ, भनी सुनाए । उनले सम्पादकहरुसँग भने, 'त्यो शक्तिको लिङ्क कहाँ–कहाँसम्म छ, थाहा भयो । तर, अहिले नै यही हो भन्न सकिँदैन, त्यति तपाई पत्रकारहरु खोज्नुस् भनेर क्लू दिनु जस्ता विषयबस्तु संयोगबस आएका आएका पक्कै होईनन्, भन्ने कुरामा कुनै शंका छैन ।' सरकारमाथि जताततैबाट आक्रोश पोखिएका बेला प्रधानमन्त्रीले मान्छेको ध्यान अन्तै मोड्न यसो भने वा उनले भन्न खोजेकाे कुरा खाेल्न सकेनन् । यो निकै अर्थपूर्ण छ । यसको भित्रिपाटो केही व्यक्तिहरु खोज्न थालिसकेका छन् ।