arrow

सिरियाका बारेमा छलफल गर्न इरानमा शिखर बैठक

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
idlib-syria-iran.jpg

तेहरान। इरान, रसिया र टर्कीका राष्ट्रपतिहरुको शुक्रबार तेहरानमा बस्ने शिखर बैठकले सिरियाको इडलीब प्रान्तमा प्रभुत्व कायम राखेका बिद्रोही लडाकूको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

यो शिखर बैठक रुसी सेनाको सहयोगमा सिरियाली सेनाले इडलीबमा आक्रमण गर्ने अन्तिम तयारी गरिरहेको पूर्वसन्ध्यामा हुन लागेको हो। सिरियाली विद्रोहीको मुख्य अखडा मानिएको इडलीबमा आक्रमण भए सात वर्षयताकै सबैभन्दा ठूलो मानवीय विपत्ती निम्तिने चेतावनी दिइएको छ।

दमास्कस र मस्कोले इडलीबमा रहेका विद्रोहीलाई परास्त गर्ने प्रतिज्ञा गरिसकेका छन् तर शुक्रबारको शिखर बैठकले इडलीबमाथिको प्रत्याक्रमणको समय निर्धारण गर्नेछ। “हामीलाई थाहा छ कि सिरियाली सैनिकहरु यो समस्या सुल्झाउन तयारी अवस्थामा छन्,” रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए।

सरकारी फौजबाट सन् २०१५ मा कब्जा गरिएको इडलीब र त्यस वरपरका इलाकाहरु मात्र बिद्रोहीको नियन्त्रणमा रहेका छन्। बिद्रोहीको नियन्त्रणमा रहेको यो नै अन्तिम क्षेत्र हो।

टर्कीले भने यी बिद्रोही समूहलाई विगतमा मद्दत गरिआएको थियो। इडलीबसँग सीमा जोडिएको टर्कीले यहाँ १२ वटा सैनिक जाँच चौकी स्थापना गरेको छ।

सिरिया सरकारले इडलीबमा सैनिक क्षमतालाई एकीकृत र सुदृढ गरिरहेको भएपनि हालैका साताहरुमा कृटनीतिक पहल व्यापक बनाइएको छ।

सरकार निकट सिरियाली एक दैनिक अखबार अल–वतनले तेहरानको शिखर बैठकमा वार्ताका नतिजाहरुलाई छलफलमा राखिने लेखेको छ। बैठकमा सिरियाली सैनिक परिचालनका बारेमा प्रस्तुतिकरण पनि हुने बताइएको छ।

संयुक्त राष्ट्रसंघ र दातृ समूहहरुले इडलीबमा यदि पूर्ण क्षमताको आक्रमण भए यो सिरियाको इतिहासमै सबैभन्दा ठूलो मानवीय विपत्ति हुने बताएका छन्। सिरिया युद्धका सातवर्षमा हालसम्म ३५०,००० को ज्यान गइसकेको छ भने एक करोड १० लाख मानिस विस्थापित छन्।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इडलीबमा रहेका सशस्त्र समूहहरुले अझै पनि सिरियाली सरकारी कार्यालयहरु र रुसी हवाई अखडामा आक्रमण गरिरहेको जानकारी दिँदै त्यस्तो समूहलाई जरैदेखि उखेल्नुबाहेक अर्को विकल्प नरहेको बताए।

इडलीबमा नरसंहार हुनसक्छ–एर्डोगान
टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले बिद्रोहीको कब्जामा रहेको सिरियाको इडलीब प्रान्तमा जथाभावी बम र क्षेप्यास्त्र प्रहार गरिए त्यहाँ नरसंहार हुने चेतावनी दिए। “त्यस्तो नहोस् भन्ने भगवानसँग मेरो प्रार्थना छ। बमबारी भएमा त्यहाँ नरसंहार अवश्य हुन्छ,” एर्डोगानले किर्गिजस्तानको भ्रमणका क्रममा पत्रकारहरुलाई बताए।

टर्कीका विदेशमन्त्री मेभ्लुट काभुसोग्लुले अझै पनि सम्झौताको सम्भावना रहेको बताउँदै भने, “शिखर बैठक हुनुअघि हामीले निरन्तर सम्पर्क गर्ने प्रयत्न गरेका छौं र राम्रो नतिजा निस्कियोस् भन्नेमा हामी सचेत छौं।” रुसले मङ्गलबारदेखि नै २२ दिनको विश्रामपछि पहिलोपटक इडलीबमा आक्रमण सुरु गरेको छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ