महिला हिंसा न्यूनीकरण सम्बन्धी राष्ट्रिय अभियान कञ्चनपुरबाट शुरु हुने
महिला हिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा नेपाल प्रहरीको जवाफदेहिता
प्रकाशित २०७५ भदौ २० बुधबार
374
Shares
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीसँगको सहकार्यमा “महिला हिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा नेपाल प्रहरीको जवाफदेहिता” विषयक राष्ट्रिय अभियानको प्रारम्भ २०७५ भदौ २२ गते कञ्चनपुरको महेन्द्रनगरबाट गर्दैछ ।
सोही क्रममा कञ्चनपुरकी निर्मला पन्तको घटनाको सम्बन्धमा भएको अनुसन्धान प्रगति एवं स्थलगत अनुगमनका साथै पीडित परिवारसँग आयोगको टोलीले भेटेर छलफल गर्नेछ ।
आयोगले महिला हिंसा लगायत मानव अधिकार उल्लंघनका घटनाहरुमा सञ्चार माध्यममा प्रकाशित समाचारहरु, प्रहरी कार्यालयहरुमा परेका उजुरीहरु लगायतको नियमित अनुगमन गर्दै आइरहेको छ ।
नेपाल प्रहरीमा आ.व. २०७४÷०७५ मा १४ सय ८० जबरजस्ती करणी, ७ सय २७ जबरजस्ती करणी उद्योग, ३ सय ८ बेचविखन, ६२ बालविवाह, ४८ बोक्सी आरोपमा हिंसा, १८ गर्भपतन सम्बन्धी उजुरी परेको देखिन्छ । ती मध्ये जबरजस्ती करणीबाट पीडितहरु ५ वर्ष देखि १६ वर्ष उमेर समूह भित्रको संख्या धेरै रहेको देखिन्छ ।
केही घटनाहरुको कानून विपरित मिलापत्र गराउने कार्यमा सुरक्षाकर्मीको समेत संलग्नता रहेको आयोगको अनुगमनबाट खुल्न आएको छ । सार्वजनिक भएका जबरजस्ती करणीका घटनाहरु अधिकांश घरपरिवार एवं नजिकको नातेदारबाट हुने गरेको छ भने सामूहिक जबरजस्ती करणीका घटनाहरु अन्य व्यक्तिहरुबाट हुने र घटनापश्चात् पीडितको हत्या गर्ने प्रवृत्ति बढ्दो देखिन्छ ।
नेपाल प्रहरीबाट घटनाको शीघ्र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन नसक्दा पीडितको जीवन थप जोखिममा पर्ने एवं दण्डहीनताले प्रश्रय पाउने देखिन्छ । कानूनी सहायता, स्वास्थ्योपचार एवं संरक्षणबाट समेत जबरजस्ती करणी घटनाका पीडितहरु वञ्चित भैरहेका भन्ने आयोगमा प्राप्त उजुरीबाट देखिन आएका छन् ।
महिलामाथि हुने यस किसिमको हिंसा लगायत कुनैपनि अपराधको नियन्त्रण एवं न्यूनीकरणमा नेपाल प्रहरीको अहम भूमिका रहन्छ । यसर्थ, महिला हिंसाका घटनाहरु वृद्धि हुँदै गएको सन्दर्भमा घटनाको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप प्रभावकारी बनाउन एवं हिंसा पीडित महिलाहरुको संरक्षण र न्यायमा पहँुच अभिवृद्धि गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ । आयोगले यही उद्देश्यबाट देशका सातै प्रदेश सहित काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमहरु आयोजना गर्नेछ ।