arrow

भारतमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या

logo
प्रकाशित २०७५ भदौ २० बुधबार
Rape-Cases.jpg

श्रीनगर, भारत। भारतमा एकजना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ। प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ।

ती बालिकालाई बलात्कार गरी हत्या गरिएको खुलेको छ। बलात्कार गरी घरभन्दा केही परको जङ्गलमा लगेर ती बालिकाको शव गाडिएको अवस्थामा भेटिएको थियो।

पक्राउ परेका चार जनाको बलात्कारमा संलग्नता रहेको प्रमाणहरु जम्मा भइरहेको प्रहरीले जनाएको छ। उता पक्राउ परेकी एकजना महिला भने ती बालिकाकी सौतेली आमा हुन्।

हत्या गरी ती बालिकाको शव गाडिएको समाचारले भारतभर शोक छाएको बताइएको छ। भारतमा हुने गरेका निर्मम हत्या र बलात्कारका घटनाको पछिल्लो दर्दनाक यो घटनाले सबै भारतीय स्तब्ध बनाएको सञ्चारमाध्यमहरुले दिएका छन्।

भारत प्रशासित काश्मिरको बरमुल्लाह जिल्लामा सो घटना भएको हो। ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर घरबाट करीब एक किलोमिटर परको जङ्गलमा लगेर गाडिएको प्रहरीले बताएको छ।

उनी बेपत्ता भएको १२ दिनपछि ती बालिकाका पिताले प्रहरीमा उजुरी गरेका थिए। त्यसपछि प्रहरीले खोज्ने क्रममा मङ्गलबार उनको शव भेटेको थियो।

त्यस हत्यामा ती बालिकाकी सौतेली आमाको पनि हात रहेको आशङ्का प्रहरीले गरेको छ। बालिकासँग उनकी सौतेली आमा सधैँ रिसाउने गरेकाले यस घटनामा उनको पनि हात रहेको अनुमान प्रहरीले गरेको छ।

गएको अगष्ट २४ मा ती सौतेली आमाले आफ्नै १४ वर्षीय छोरा र उनका १४ र १९ वर्षका साथीलाई ल्याएर ती बालिकालाई बलात्कार गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ।

ती बालिका गएको २४ अगष्टदेखि हराएको सूचना आएपछि उनलाई उनकै आमाले जङ्गलतर्फ लगेको देखेको गाउँलेले बताएका थिए। छत्तीस वर्षीय तिनै सौतेली आमाले नै बञ्चरोले टाउकोमा हानेर ती बालिकाको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकारेको प्रहरीले जनाएको छ।

यस हत्यामा अर्को एकजना २८ वर्षीय स्थानीयको पनि हात रहेको अनुमान गरिएको छ। उसलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।

ती महिलाको छोरासहितका तीन जना बालकले भने बलात्कार र हत्यामा आफूहरुको हात रहेको स्वीकार गरेका छन्। प्रहरी अनुसन्धानका क्रममा उनीहरुले स्वीकार गरेको प्रहरी प्रतिवेदनमा जनाइएको छ।

भारतमा पछिल्लो समयमा यस्त बलात्कारका घटनाका विरुद्धमा कडा कारवाहीको कानूनी व्यवस्था गरिएको भए पनि घटनामा कमी भने आएको छैन। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ