arrow

काबुलमा आत्मघाती आक्रमण, दुई पत्रकार मारिए

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
two-afghan-journalists_-killed.jpg

काबुल। अफगानिस्तानको राजधानी काबुलस्थित माइवान्ड स्पोर्टस् क्लबमा बुधबार अपराह्न भएको दुईवटा आत्मघाती बम आक्रमणमा २६ जनाको मृत्यु भएको छ। तालिम चलिरहेको समयमा बुधबार अपराह्न भएको यो आक्रमणबाट क्षतबिक्षत कुस्ती क्लबमा त्यहाँ अभ्यासरत कुस्ती खेलाडीहरुका झोला, कपडा, म्याटहरु रगतमा लतपतिएको विभत्स दृश्य देखिन्थ्यो। मारिएका खेलाडीहरुमा १० वर्षका बालबालिका पनि रहेका थिए।

क्लबमा शुरुमा गोली चलाउँदै एक आत्मघाती व्यक्ति क्लबभित्र प्रवेश गरेर आफैंलाई बमले उडाएका थिए। त्यसको एक घण्टापछि बिस्फोटक पदार्थले भरिएको कारलाई क्लबको नजिक ल्याएर विस्फोट गराइएको थियो।

पहिलो आक्रमणमा मारिएका र घाइते भएकाहरुको उद्धार गर्न र समाचार सङ्कलनमा पुगेका उद्धारकर्मी र पत्रकार समेत आक्रमणको चपेटामा परेका थिए। दोस्रो आक्रमणबाट अफगानिस्तानको सबैभन्दा ठूलो निजी प्रसारण संस्था टोलो न्यूजमा कार्यरत दुईजना पत्रकारको मृत्यु भएको थियो। अरु चारजना सञ्चारकर्मी घाइते भएका थिए।

“जताततै मृत्यु भएका र घाइते भएकाहरु देखिन्छन्,” १४ वर्षका कुस्ती खेलाडी सइद रोहुल्लाले बताए। अली सीनाले क्लब बाहिर गोलीको आवाज सुन्नेबित्तिकै खेलाडीहरु क्लबको बीच भागमा भेला भएको जानकारी दिए। अलीले आत्मघाती व्यक्ति क्लबभित्र छिरेको देखेका थिएन।

यो आक्रमणका लागि इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ। अफगान स्वास्थ्य तथा गृहमन्त्रालयले यस आक्रमणबाट कम्तीमा २६ जनाको मृत्यु भएको र ९१ जना घाइते भएको जनाएको छ।

माइवान्ड क्लबका व्यवस्थापक पहलवान शीरले मृत्यु हुने व्यक्तिहरुको संख्या अरु बढ्न सक्ने बताए। आक्रमणका समयमा क्लबभित्र कम्तीमा एक सय ५० व्यक्ति अभ्यासरत रहेको उनले बताए। उनले भने, “कतिपय मानिसले आफ्ना दिवंगत व्यक्तिलाई घर लगिसके। म अझै पनि हराइरहेका विद्यार्थी र प्रशिक्षकको खोजी गरिरहेको छु।”

शिते समुदायमाथि अगष्ट १५ मा पनि डरलाग्दो आक्रमण गरिएको थियो। शैक्षिक केन्द्रमा भएको त्यस आक्रमणमा एक दर्जनभन्दा बढी विद्यार्थीको मृत्यु भएको थियो। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ