राजधानीमै अचम्मको ठाउँ जहाँ फल्छ ‘आधा सुपारी’, घर लैजान पाइने तर बेच्न नपाइने
यमुना भण्डारी,
प्रकाशित २०७५ भदौ २३ शनिबार
1.4k
Shares
काठमाडौं । ललितपुरको चापागाउँस्थित बज्रबाराही मन्दिरसँगै जोडिएको जंगलमा विरुवा रोपिएको समाचार सुनिन्छ । यतिसम्म कि जापानीहरु पनि आएर विरुवा रोप्छन् । तर, त्यहाँ अहिलेसम्म कस्तो र कुन् जातका विरुवा रोपिएको छ ? संरक्षण गरिएका विरुवाहरुको विशेषता के हो ? भन्नेबारे खासै चर्चा गरेको भेटिँदैन ।
साविक चापागाउँ गाविस अहिले गोदावरी नगरपालिकामा गाभिएको छ । चापागाउँको बज्रबाराहीबारे जति चर्चा हुन्छ, त्यतिनै चर्चा संगै रहेको जंगलको पनि हुन्छ । त्यही जंगलमा रहेको एउटा वनस्पति अर्थात् रुखको प्रजातिले सबैको ध्यान तान्छ । अग्लो रुख, मान्छेले नभेट्ने माथि हाईटमा तर्लङ्ग झुण्डिएका लहरा ।
घुम्न आउने जो कोहीले लहरा देख्ने वित्तिकै फोटो खिचिहाल्छन् । तर, त्यो कुन प्रजातिको रुख हाे, यसको खास विशेषता के ? भनेर थोरैले मात्रै सोध्छन् । यो प्रजाती हो, सुपारी । तर, यसलाई सुपारी भनेर मात्रै हुँदैन । आधा सुपारी भन्नु पर्दछ । बजारमा विक्रि हुने सुपारीकाे जस्ताे गाेलाई भएकाे भरपूर दाना नहुने । आधा मात्रै । साईज भने काेही सानाे काेही ठूलाे । झट्ट सुन्दा आश्चर्य लाग्छ । आधा पनि फल हुन्छ र ? तर, त्यो वास्तविक हो । रुखमा चढ्न अनुमति छैन । भुँईमा खसेको दाना हातमा लिँदा अचम्म लाग्छ । यस्तो आधा सुपारी पनि हुन्छ र ? तर, हुँदो रहेछ । यो आधा सुपारीको विशेषता कसैलाई थाहा नभएको भन्ने होईन । यो जंगलमा अरु दुई तीन प्रकारका सुपारी समेत पाइने बताईन्छ ।
यही हो आधा सुपारीको फल
आधा सुपारीबारेका भनाई
आधा सुपारीको अहिले जंगल नै भईसक्यो । तर, पूराना रुखहरु छैनन् । एक ठाउँमा रोपेको विरुवा अर्को ठाउँमा सार्न मिल्दैन । यदि सारेको खण्डमा सुकेर जान्छ, सर्दैन भनिन्छ । रोप्ने तरीका पनि अचम्मको, बीउ छर्ने । १०० वटा छर्दा ९० वटा जति उम्रिन्छ, संरक्षण लागि बनाईएको समितिका प्रतिनिधि सुजन देशार भन्छन्, ‘आधा सुपारीको रुख कहाँबाट आयो भन्ने हामीलाई त्यति जानकारी छैन । पहिले ८–१० वटा रुख थिए । अहिले धेरै छन् ।’ उनका अनुसार आधा सुपारी खाँदा स्वाद छैन । अरु सुपारी भन्दा निकै फरक छ ।
औषधि
यो सुपारीको किनबेच हुँदैन । कसैले टिपेर बेच्न पाइँदैन । तर, खोजेर लान्छन् । किन ? देशार भन्छन्, ‘यो औषधिको रुपमा प्रयोग हुने भएकाले हेर्न आउनेहरु मध्ये जाने बुझेकाले लैजान्छन् । रुखमा चढेर टिप्न पाइँदैन ।’ यो सुपारीको अर्को विशेषता सुकाईरहनु पर्दछ । चिसो भएको खण्डमा शरीरमा चिलाउने आदी समस्या हुन्छ । आधा सुपारी आधा टाउको दुख्दा औषधिको काम गर्छ, भन्छन् देशार ।
अर्को किंवदन्ती
ठाउँ रमणीय छ । अहिले मान्छेहरु खुब पिकनिक आउँछन् । थाहा भएका अथवा बुझेका मान्छेहरुले त्यहाँका कुनैपनि वनस्पतिका केही पनि अंश पात, हाँगा, झुप्पा केही पनि टिप्दैनन् र बोक्दैनन् । थाहा नभएका नयाँ मान्छेहरुले यदि टिपेर लगेको खण्डमा ति आफै फिर्ता आउँछन्, भन्ने किंवदन्ती छ ।
संरक्षण समितिबाट काम गर्न खटिएका तपिल देशारका अनुसार अहिलेसम्म त्यो ठाउँमा गएर कसैलाई वनस्पतिका कारण घाउ चोट लागेको वा कोरिएको सुन्नमा आएको छैन । यो जंगलमा दुई टाउको भएको सर्प र काँडे भ्याकुर लगायत पनि भेटिन्छन् । अर्को अचम्म, यो जंगल क्षेत्रका पातपतिङ्गरहरु उडाएर अन्यत्र जाँदैनन् ।