तीजको दर खान गएका बेला डुंगा दुर्घटना, एकको मृत्यु, पाँच हराए
प्रकाशित २०७५ भदौ २३ शनिबार
268
Shares
काठमाडौँ । पोखराको बेगनास तालमा आफन्तकोमा तीजको दर खान गएकाहरु चढेको डुंगा पल्टिदा एक जनाको मृत्यु भएको छ ।
डुंगा पल्टिँदा डुबेर कृष्णकुमारी बजगाँइको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रविन्द्र गुरुङले जानकारी दिए ।
ढुङगामा सवार पाँच जना भने अझै वेपत्ता छन् । डुंगामा ९ जना यात्रु रहेको बताइएको छ । डुबेका मध्ये तीन जनाको उद्धार गरिएको र अन्यको खोजी भइरहेको गुरुङले बताए ।
बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान गएका आफन्तहरु डुंगामा ताल घुम्न गएका थिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । उद्धार गरिएकाहरुको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।