पार्टीगत अस्था भन्दा माथि उठेर पत्रकारिता गर्नुस : देउवा
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ २३ शनिबार
658
Shares
बुटवल। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीगत आस्था भन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिंदै कांग्रेस संधै प्रेस स्वतन्त्रको पक्षमा उभिने स्पष्ट पारे। बुटवलको बुद्ध टेलिभिजनको एघारौं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले पांच नम्बर प्रदेशमा रहेका संचारमाध्यमले बुद्ध दर्शन र बुद्ध शिक्षालाई प्रचार गर्न सुझाव दिए।
मुलुकमा शान्ति र स्थिरताका लागि बौद्ध दर्शनको प्रचार प्रसार आवश्यक पर्ने उनले बताए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले कुनै दल (नेकपा) को नेताको निर्देशनमा संचारमाध्यममाथि हस्तक्षेप गरेको आफूले जानकारी पाएको उल्लेख गर्दै देउवाले त्यसमा आपत्ति जनाए। ‘हामी त्यस्ता सिडिओलाई कारवाही गरेरै छाड्छौं’–देउवाले भने–‘यो कुरा म काठमाडौं गएर पनि उठाउंछु।’
वार्षिकउत्सव कार्यक्रममा बोल्दै कांग्रेसका प्रम्ुख सचेतक बालकृष्ण खांणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र कसैले सार्न नसक्ने बताएका छन्। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल,नेकपाका नेता एवं संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रदेशको राजधानी बुटवलबाट अन्तै सार्छौं भन्ने अभिव्यक्ति बेलबेलामा दिइरहेको उल्लेख गर्दै त्यो प्रयास सफल नहुने स्पष्ट पारे।
भैरहवामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थलको जिल्ला, प्रशस्त भौतिक पुर्वाधारका कारण प्रदेशको स्थायी राजधानीका लागि बुटवल नै उपयुक्त भएको खांणले तर्क गरे। खांणले वर्तमान सरकारबाट स्वतन्त्र प्रेसमाथि प्रहार भइरहेको बताउंदै सरकारको आलोचना र विरोधमा समाचार लेखेका भरमा अन्तर्वार्ता गरेका आधारमा पत्रकारहरुलाई जागिरबाट निकालिएकोमा आपत्ति जनाए।
स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएकाले कांग्रेसले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि काम र निर्णय हुन नदिने बताए। कार्यक्रममा प्रतिनिधि सभा सदस्य भरतकुमार शाहले वर्तमान सरकारले हरेक क्षेत्रमा चर्को कर लगाएर नागरिकलाई मर्कामा पारेको बताए।
कूल गार्हस्थ उत्पादनको २५ प्रतिशत योगदान करबाट असुलिएको उनले बताए। भारतमा भने करको योगदान १२ प्रतिशत मात्र रहेको शाहले बताए। सो अवसरमा नेकपा प्रदेश संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले बुटवललाई प्रदेश ५ को अस्थायी राजधानी तोकेकोमा धन्यवाद दिए ।
देउवा प्रधानमन्त्री रहेको यसअघिको सरकारले सातै प्रदेशको अस्थायी मुकाम तोक्ने निर्णय गरेको थियो । उनले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र लैजान खोजिए विगतको जस्तै सशक्त आन्दोलन चर्किने चेतावनी दिंदै दिए । प्रदेश ५ को सिमांकनमा पहाडका जिल्लालाई नराखिएपछि बुटवलमा आन्दोलन चर्केको थियो।
कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले वर्तमान सत्ता काम नगर्नेको हातमा पुगेको आरेप लगाए र उनले चुड्किला र उखानमा रमाएर विचार नपुर्याई भोट हाल्दा जनता अहिले करको मारमा परेको बताए। कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायतले आआफ्ना धारणा राखे। टेलिभिजनले बांकेका अग्रज पत्रकार पन्नालाल गुप्ता, बुटवलका साहित्यकार जंग बहादुर शाह, गायिका मना छन्तेल र लन टेनिस प्रशिक्षक विकास खड्कालाई नगदसहित सम्मान गरेको छ।