कांग्रेसमा आठ तहको संरचना, पदाधिकारी १०, केन्द्रीय समिति सय नाघ्ने
गोविन्द अधिकारी,
प्रकाशित २०७५ भदौ २४ आइतबार
573
Shares
काठमाडौं। नेपाली कांग्रेसले संघीय ढाँचाअनुरूपको विधानका लागि प्रारम्भिक मस्यौदा तयार पारेको छ। नया संरचनाका लागि कांग्रेसले पदाधिकारी समेत थप गर्दै केन्द्रीय समितिलाई बढाउन प्रस्ताव गरेको छ। विधान समितिको बैठकमा विधान मस्यौदाको खाका तयार गर्दै विभिन्न तीन उपसमितिले आ-आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएइ सकेका छन।
प्रारम्भिक मस्यौदामा वरिष्ठ नेता सहित पदाधिकारी संख्या १० जना रहने गरी प्रस्ताव गरिएको छ। जस अनुसार सभापति सहित, दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्ष प्रस्तावित छन। तर को निर्वाचित र को मनोनित हुने भन्ने तय भएको छैन। विधान समितिका प्रवक्ता रमेश लेखकले पदाधिकारी संख्या बढ्ने निश्चित भएपनि निर्वाचित हुने र मनोनित हुने पदका विषयमा छलफल जारी रहेको बताए। ‘पदाधिकारी संख्या बढ्ने निश्चित छ, तर कुन-कुन पदका लागि निर्वाचित हुने र कुन पदका लागि मनोनित हुने भन्ने तय भएको छैन, छलफलमा नै छौं,’ नेता लेखकले भने।
यसैगरी पार्टीको केन्द्रीय समिति पनि एक सय २० देखि एक सय ३० को संख्यामा रहने गरी प्रस्ताव गरिएको छ। विधान समितिका सदस्य रहेका नेता प्रदिप पौडेलले एक सय २० देखि १ सय ३० जनासम्म केन्द्रिय समितिमा रहने गरी प्रस्ताव आएको बताएका हुन। हाल कांग्रेस केन्द्रिय समिति ८५ सदस्सीय छ।
पार्टीको संरचना समेत मतदान केन्द्र कमिटि देखि केन्द्रीय समितिसम्म गरी आठ तह प्रस्ताव गरिएको छ। सबै भन्दा तल्लो तहमा मतदान केन्द्र कमिटी, गाउँपालिका नगरपालिका वडा कमिटी, स्थानीय तह कार्यसमिति, प्रादेशिक क्षेत्रीय समिति, संघीय क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रादेशिक कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी नयाँ खाका तयार गरिएको हो।
महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको विधान समितिले पार्टीको संरचना, कार्यविभाजन र आन्तरिक व्यस्थापनसँग सम्बन्धित विधान बनाउन तीन उपसमिति गठन गरेको थियो। समितिले एकीकृत प्रारम्भिक मस्यौदामाथि असोज पहिलो साता सबै प्रदेशमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम समेत गर्दैछ। यस्तै असोज दोस्रो साता अन्तिम मस्यौदा तयार हुने छ। मंसिरमा ५ देखि ९ सम्मका लागि टोकिएको महासमिति बैठकले त्यसलाई पारित गरेपछि कांग्रेस संविधानले तय गरेको संरचनामा रूपान्तनरण हुनेछ।
असार पहिलो साता हेटौंडामा सम्पन्न कांग्रेस जिल्ला सभापतिहरूको भेलाले नेतृत्वलाई कम्तीमा ६१ सदस्यीय प्रदेश समिति, जिल्ला कार्यसमिति ५१ सदस्यीय, संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति ३१ सदस्यीय, प्रादेशिक निर्वाचन क्षेत्रीय कार्यसमिति ३१ सदस्यीय र स्थानीय तहको कार्यसमिति ३१ देखि ५१ सदस्यीय बनाउन सुझाएका थिए। यस्तै केन्द्रीय समिति २ सय १५ सदस्यीय बनाउन सुझाएका थिए। प्रादेशिक कार्यसमिति भने ५१ सदस्यीय बनाउन प्रस्ताव भएको छ।