arrow

भड्कीलो बन्दै तीज 

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ २४ आइतबार
happy-teej.jpg

पारीपारी आएका छाते टोपी लाएका

भैया हाम्रा होलान की लिन आएका.....

वर्ष दिनको तीजमा दादा लिन आएका,

 पापिनी सासुले दिनन् बरीलै, ......

‘वर्ष दिनको तीजमा, बाबा लिन आए बरिलै.....

माइती घर जान्छु नि म त, सासु बिदा देऊ न बरिलै.....

पाल्पा। यसरी सासु–बुहारी, नन्द–भाउजु, आमा छोरीहरुका दुःख, सुखका विलौना र माइती घरको सम्झना चेलीबेटी जमघट भएर तीजमा गाईने यी भाका, लय हिजो आज गाउँघरमा सुन्नै मुस्किल भइसकेको छ। घरआगनको डिलमा बसी, गाउँभरीका महिलाहरु टुकी र दियालोको उज्यालोमा रातभर तीजका गीत मादलको तालमा गाउँदै नाच्ने ती रमाइला पल एकाएक हराउँदै गएका छन्।

पुराना मौलिक संस्कृतिहरु पुस्तान्तरण हुन नसक्दा पुराना लयका तीज गीतहरु हराउँदै गएका हुन्। पछिल्ला दिनहरुमा मानिस शहरीकरण  तर्फ उन्मुख हुनु र विभिन्न समुदायका मानिसहरुको रहनसहन, बोलिभाषका कारण समूहमा गाईने ती  पुराना शैलीका तीज गीतका भाकाहरु विर्सदै  गएको साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाका अध्यक्ष पुस्कर अथक रेग्मी बताउँछन्। उनी भन्छन् ‘मानिस शहरीकणर भए सँगै एक्लिदै जाने र विभिन्न नयाँ नयाँ प्रविधिहरुको प्रयोगाबाटै तीजका गीतहरु आउने भएकाले तीजको मौलिकतामा कमी आएको छ।

पछिल्लो समयमा मोवाईल, टेलिभिजनहरुमा आउने तीजका छाडा गीतहरुमा नाच्न थालेका छन्, जसका कारण तीजको मौलिक  संस्कृति हराउँदै जानुको साथै भड्कीलो बन्दै गएको  हो। ’

 नेपाली समाजको विशेष गरी शहरी क्षेत्रमा केही वर्ष यता तीजको महिना दिन अगाडि नै दर खाने र रमाइलो गर्ने नाममा ठूलो रकम खर्चने गरेको पाइन्छ। विगतमा तीजको समयमा दुःख पीडा र बेदनाका गीतहरु गाईने गरिए पनि पछिल्लो समयमा तीज गीतमा छाडापन सँगै भड्कीलो बन्दै गएको छ। पश्चिमी संस्कृतिको  हामीहरुले अनुसरण गदैं जादाँ आफ्नो मौलिकपनलाई भुल्दै गएको संस्कृतिका जानकार निर्मल श्रेष्ठले बताए।

अरुको देखासिखी  गरे पनि आफ्नो मौलिक संस्कृति र शास्त्रीय विधिलाई संरक्षण गर्नु पर्ने र तीजलाई भड्कीलो बनाउन नहुने संस्कृतिका जानकार श्रेष्ठ बताउँछन्। तीजलाई  मिलन उत्सवका रुपमा मनाउनुपर्नेमा पछिल्लो पुस्तालाई श्रेष्ठले आग्रह गरे।

हिन्दु परम्परा अनुसार शिवले पार्वतीलाई पति पाउँ भनि पानी समेत नखाई ब्रत बसेको र कठोर ब्रतलाई तोड्न शिवजी प्रकट भएको सन्दर्भमा हरेक वर्ष तीज मनाइदै आएको हो। हिजो आज तीजको अवसरमा दर खाने नाममा विकृति समेत फैलिएको छ। विभिन्न छाडापनका गीतको लयमा नाच्नुको साथै दरका नाममा  जाँड् ,रक्सी सेवन गरी होहल्ला गर्ने परिपाटिले यतिबेला विकृति लिएको छ। यसरी नेपाली मौलिक संस्कृति माथि विकृति प्रहार भएको प्रति पुरानो पुस्ता चिन्तित बनेको छ। तीज भड्कीलो भएकाले  संस्कृति नै धरापमा पर्ने भन्दै पुरानो पुस्ताले दुःख मनाउ गरेका छन्। उनीहरु तीजको मौलिक संस्कृतिलाई बचाउन नयाँ पुस्ता लाग्नु पर्ने सुझाव दिन्छन्।

तीज मनाउने नाममा महंगा महंगा गरहगना, लुगा, खानपिन गर्नाले आर्थिक अवस्था कमजोर भएकाहरुलाई समस्या पर्ने संस्कृतिका जानकारहरु बताउँछन्। उनीहरु तीजको नाममा मोटो रकम खर्च गर्ने र गरगहना प्रदर्शन गर्ने प्रवृत्ति बढेको बन्दै यस्तो प्रवृत्तिलाई निरुत्साहित गरी एक आपसमा सुःख दुःख साट्ने पर्वको रुपमा अगाडि बढाउन सके तीजको महत्व बढ्दै जानेमा नयाँ पुस्तालाई सुझाव दिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ