फुजेल घटनाको फैसला प्रचण्डले भने बमोजिम नै, के गर्लिन् गंगामायाले ?
‘सरकार पुनरावेदनमा जान्छ भन्ने आशा छ’ – चरण प्रसाईं
प्रकाशित २०७५ भदौ २५ सोमबार
511
Shares
काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले १२ जना प्रतिवादीलाई सफाइ दिएपछि एकाएक न्यायपालिकाको निर्णयप्रति तरङ्ग उत्पन्न भएको छ ।
न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार गरेको फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानूनी रुपले प्रमाण अभाव देखिँदा दावी स्थापना हुन सक्ने आधार एवं कारण नदेखिएको उल्लेख छ ।
फैसलामा “अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा आरोपित प्रतिवादीउपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार देखिँदैन ।” भनिएको छ ।
यसैलाई आधार बनाएर घटनाका प्रतिवादी गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ दिइएको छ ।
यिनीहरुमध्ये छविलाल कारागारमा तथा अन्य सामान्य धरौटी र तारेखमा छन् भने रुद्र आचार्य भने विदेशमा रहेको बताइएको छ । अदालतले आचार्यको मुद्दा भने मुल्तबीमा राखेको छ ।
के सरकार हारेको हो ?
सरकारले नै दर्ता गरेको मुद्दामा सरकार हारेको देखिएको छ । तर मानवअधिकारकर्मी चरण प्रसाई भने सरकारले अहिले जिल्ला अदालतमा हारेको देखिए पनि पुनरावेदनमा जान्छ भन्ने विश्वास रहेको बताउँछन् ।
हाम्राकुरासंग उनले भने, ‘फैसला दुर्भाग्यपूर्ण छ, अदालतको फैसलालाई हामीले धेरै केही भन्ने कुरा पनि भएन तर नेपालमा अब न्याय पाइँदैन भन्ने सन्देश भने गएको छ ।’
उनले भने, ‘न्यायीक प्रक्रियामा गएपछि यो सरकार नै हारेको हो । सरकार अझै पनि पुनरावेदनमा जान्छ भने आशा छ ।’
अधिकारकर्मी प्रसाईले अहिलेको निर्णय राजनीतिक प्रभावकै परिणाम भएको पनि बताए ।
उनले राजनीतिक भागबण्डाका भरमा अदालतमा न्यायाधीश नियुक्त हुनुको परिणाम नै यही भएको सम्झिए । उनले अगाडि थपे, ‘सरकारले अब कर्तव्यबाट चुक्नु हुँदैन, पुनरावेदनमा जान्छ भन्ने लागेको छ ।’
के गर्लिन् गंगामायाले ?
यो फैसलापछि कृष्णप्रसादकी आमा गंगामायाले के गर्लिन् भन्ने प्रश्न खड्किएको छ । निरन्तर आमरण अनसनमा बसिन् । न्याय पाइनन् । बल्लबल्ल अहिले खुलेको फाइल बन्द हुने अवस्थामा छ ।
कृष्णप्रसादका बाबुको छारोको न्याय खोज्दाखोज्दै ०७१ असोज ६ गते निधन भएको थियो । उनको शव शिक्षण अस्पतालमा छ । दाहसंस्कार हुनु त परकै कुरा ।
गंगामायालाई न्याय दिने भन्दै पछिल्लो समय सरकारले आमरण अनसन तोडाएको थियो । तर के गर्लिन् अब फेरि गंगामाया ?
एक स्रोतका अनुसार गंगामायाले सोमबार साँझदेखि नै आमरण अनसन थाल्नेछिन् । अधिकारकर्मी प्रसाईका अनुसार सोमबार दिउँसो २ बजे वीरअस्पतालमा रहेकी गंगामायासंग भेट्ने कार्यक्रम छ ।
उक्त भेटपछिमात्र के गर्ने भनेर गंगामायाबाट जानकारी पाइने पनि प्रसाईंले बताए ।
प्रचण्डले सोचेजस्तै भयो
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छविलाल पौडेल अदालतमा गएर आत्मसमर्पण गरी डिल्लीबजार कारागारमा गएको केही दिनपछि भनेका थिए, ‘मैले नै छविलाललाई आत्मसमर्पण गर्न भनेको हुँ, केही समय बस्छन् त्यसपछि छुटछन्, यो घटनाका सबैले न्याय पाउँछन् ।’
उनले आफूले सोचे अनुसार नै अदालतबाट फैसला आउने पनि भनेका थिए । त्यसपछि मिडियामा उनको आलोचना पनि भयो ।
त्यही उनको भनाइ सम्झँदै अधिकारकर्मी प्रसाई भन्छन् ‘प्रचण्डको भाषणपछि न्यायपालिकाले त्यस्तै निर्णय गर्दा त राजनीतिक प्रभाव पर्यो भन्ने स्पष्टै हुन्छ ।’
अब बाँकी रुद्र आचार्य
रुद्र आचार्य बाँकी नै छन् । उनी कृष्णप्रसादलाई गोली हान्ने व्यक्ति हुन् भनेर बाहिर आएको छ ।
तर उनी फरार छन् । उनी बेलायतमा रहेको बुझिन्छ । सरकारले उनलाई सुपुर्दगी गर्नका लागि बेलायतलाई पत्रसमेत लेखिसकेको छ ।
बेलायतको आफ्नै कानुन भएकाले उनी नेपालमा आउन केही समय लाग्ने नै छ । अहिले अदालतले उनको मुद्दा मुल्तवीमा राखेको छ ।
आचार्य अदालतमा हाजिर भएपछिमात्र मुद्दा खुल्नेछ । तर उनी नेपालमा आएर पनि साँचो बताउँछन् भन्ने छैन ।
साँचो बताएमात्र कसको निर्देशनमा गोली हानेका थिए भन्ने स्पष्ट हुने थियो ।
त्यसो त यसअघि प्रचण्ड र डा बाबुराम भट्टराईले घटनाको जिम्मा लिइसकेका छन् । जिम्मा लिए पनि उनीहरुलाई पक्राउ गरी कार्वाही गर्ने हैसियत नेपालको कानुनले राखेको छैन ।
बाबुरामले जनयुद्धका घटनालाई त्यही तरिकाले हेर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्यहरु भने यस्ता मुद्दाहरुलाई मिलाउनुको सट्टा आयोगको आयु लम्ब्याउन मै व्यस्त छन् ।