arrow

युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
usa-EU.jpg

ब्रसेल्स। संयुक्तराज्य अमेरिका र युरोपेली आयोगका उच्च अधिकारीहरु व्यापारमा देखिएका विवादहरु सुल्झाउने उपायको खोजी गर्न सोमबार ब्रसेल्समा भेला हुँदैछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करबीच जुलाईमा भएको वार्तामा एकअर्का विरुद्ध करवृद्धि नगर्ने र सबै बस्तुमा भन्सार दस्तुर हटाउने गरी सीमित व्यापार सम्झौता गर्नेमा सहमति भएको थियो।

दुबै पक्षबीच भएको यो सहमतिलाई धुमधामसँग प्रचार गरिएको थियो, तर पछिल्ला वक्तव्यहरुले मतान्तर रहेको स्पष्ट गरेको छ, खासगरी कृषिजन्य उत्पादनका विषयमा। अमेरिकाले कुनैपनि सम्झौतामा कृषिलाई भुल्न नसकिने बताए।

फ्रान्सको दबाबमा युरोपेली सदस्य राष्ट्रहरुले व्यापार सम्झौतामा कृषिजन्य बस्तुलाई समावेश गर्नुपर्ने भन्ने अमेरिकाको दबाबलाई अस्वीकार गरेका छन्। युरोपका वरिष्ट व्यापार अधिकारी सेसीलीया माल्स्ट्रमले आफ्ना समकक्षी अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइट्रलाई युरोपको चासोका विषयमा स्पष्ट गर्ने प्रयत्न गर्नेछन्।

“युरोपेली आयोग र संयुक्तराज्य अमेरिकाबीच दस्तावेजको रुपरेखामा सहमति हुनेछ, र सायद यो कार्य वर्षको अन्त्यसम्ममा हुनेछ,” युरोपेली स्रोतले एएफपीलाई बतायो। “यथार्थमा, ट्रम्प र जन्करबीच सहमति भएको हो, तर हामीलाई छलफलको विस्तृत जानकारी छैन।”

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी मध्यावधि चुनाव अघि नै युरोपका चारपाङ्ग्रे सवारीसाधनमाथि करबृद्धि गर्ने भनी मन्तव्य दिएका थिए।

चारपाङ्ग्रे सवारीसाधनमा हुने करवृद्धिले जर्मनीमाथि सबैभन्दा ठूलो क्षति पुग्ने अनुमान गरिएको छ। जुनमा युरोपेली स्टील र आलुमिनियममाथि लगाएको करवृद्धिले थप समस्या सिर्जना गरेको छ। प्रतिशोध स्वरुप युरोपले समेत अमेरिकी बस्तुमाथि करवृद्धि गरेको छ।

युरोपेली आयोगकी माल्स्ट्रमले गत महिना युरोप–अमेरिकाबीच सवारीसाधनमा करवृद्धि गर्न नहुने बताएका थिए। तर अमेरिकी राष्ट्रपतिले अमेरिकी कारमाथि युरोपको बजार लगभग बन्द अवस्थामा रहेकोले पनि अमेरिका भित्रिने कारमा कर लगाउनुपरेको दाबी गरेका छन्।

“यो विल्कुलै ठीक होइन, यसलाई स्वीकार्न सकिन्न,” ब्रसेल्सको धारणाप्रति कटाक्ष गर्दै ट्रम्पले भने। ट्रम्पले युरोपेली आयोगलाई चीनसँग पनि तुलना गरे। उनले संयुक्तराज्य अमेरिका प्रवेश गर्ने सबै चिनीयाँ बस्तुमाथि करवृद्धि गर्ने चेतावनी दिएका छन्।

“युरोपेली युनियनसँगको व्यापारिक सम्बन्ध पनि चीनजस्तै खराब छ, केही सानो मात्र हो,” ट्रम्पले अगष्टमा ब्लूमबर्गलाई बताए। तर तनावमा रहेको जर्मनीको अगुवाइमा रहेका युरोपेलीहरु अमेरिका वार्ताको टेबलमा आओस् र कुनै किसिमको सम्झौता होस् भन्ने चाहन्छन्।

जुलाईदेखि युरोपेली आयोगले अमेरिकासँग धेरैवटा प्रतिबद्धता घोषणा गरेको छ, तर पर्यवेक्षकहरुले यी प्रतिबद्धताहरु पहिल्यै सुल्झेका हुन् भनी टिप्पणी गरेका छन्। युरोपेली अधिकारीहरुले मागमा आएको तिब्र वृद्धि बजारका कारण भएको बताएका छन्। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ