arrow

सर्वोच्च अदालतमा विरलै देखिने दृष्यः मिश्रद्धारा पदबहाली, जोशीद्धारा स्वागत 

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
om-prakash-mishra-dipak-raj-joshi.JPG

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । 

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन् । 

पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश मिश्रले आफूले कम समयमा न्यायालयमाथि जनविश्वास बढाउने, सूचनामैत्री न्यायालय बनाउने, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारवाहीको दायरामा ल्याउनेलगायतका प्रतिबद्धता व्यक्त गरे । 

सर्वोच्च अदालत परिसरमा सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार जोशीले उनलाई फूलमाला लगाएर प्रधानन्यायाधीशका रुपमा स्वागत गरेका हुन् । 

संसदीय सुनुवाइ समितिले जोशीको नाम अनुमोदन गर्न अस्वीकृत भएपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मिश्रको नाम सिफारिश गरेको थियो । 

समितिले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि जोशी बिदामा बसेका थिए । तर सोमबार नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न जोशी अदालतमा पुगेका थिए ।

संवैधानिक परिषद्को सिफारिशमा मिश्रको नाम सोमबारै संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको थियो । 

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । 

नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा नाम सिफारिश गरेको थियो । 

रुपन्देही जिल्ला रायपुरमा २०१० पुस २८ गते बाबु महेशदत्त र अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मिएका ओमप्रकाश मिश्रले २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका हुन् । 

गत साउन २० गतेदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम शुरु गरेका मिश्रले सोमबारदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त गरेका छन् । 

प्रधानन्यायाधीशका रुपमा मिश्रले चार महिना काम गर्नेछन् । आगामी पुस १८ गते सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण उनले अवकाश लिनेछन् । 

प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाई समितिबाट अस्वीकृत दीपकराज जोशीको भने पुसपछि पनि म्याद हुनेछ । 

त्यतिबेला जोशी सक्षम भएर फेरि प्रस्तावित हुने र प्रधानन्यायाधीश बन्ने सम्भावना रहेको बताइन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ