समाचार लेखेकै भरमा जेल बस्नुपर्ने ? कानुनी उपचार छैन ?
घटनाको सत्यतथ्य छानविन गरी पक्राउ परेका संचारकर्मीलाई विना शर्त रिहाइ गर्न प्रेस युनियनको माग
प्रकाशित २०७५ भदौ २६ मंगलबार
347
Shares
काठमाडौं । समाचार प्रकाशित गरेकै आधारमा खोजतलास साप्ताहिक तथा खोजतलास डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश लिएर प्रहरीले पुनः नियन्त्रणमा लिएको सम्बन्धमा नेपाल प्रेस युनियनले गम्भीर आपत्ति जनाएको छ ।
उनलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गर्ने भनी काठमाडौं जिल्ला अदालतबाट गत आइतबार पक्राउ पुर्जीका लागि आदेश लिएर पक्राउ गरी मुद्दा चलाउने तयारी भएको जनाइएको छ ।
युनियनले सुचना विभागमा दर्ता भइ प्रेस काउन्सिलमा सुचिकृत भएका कुनै पनि समाचार संस्थालाई समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा नलगाउने मान्यता विरुद्ध एवं सो ऐनमा आकर्षित नै नहुने विषयमा राज्यसत्ताको चरम दुरुपयोग गरी पत्रकारलाई अनावश्यक दुःख दिने र धरपकड गर्ने पूर्वाग्रही सोच र मनसाय अनुसार पत्रकार बस्नेतलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ – ‘सरकारले आफ्ना कमजोरी र भ्रष्टाचारका विषयहरु लुकाउन सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि ऐन र अदालतको दुरुपयोग गर्दै राज्यसत्ताको शक्तिको आडमा आक्रमणमा उत्रिएकोप्रति हामी घोर भत्सर्ना गर्दछौं ।’
विज्ञप्तिमा ‘एकपछि अर्को गर्दै विभिन्न वहानामा वा विचार, सिद्धान्त र आस्था नमिलेकै आधारमा संचारकर्मी र संचारमाध्यममाथि सरकारले गरिरहेको दमन, विभेद र पक्राउ जस्ता अत्यन्तै आपत्तिजनक घटनाको युनियन निन्दा गर्दछ’ भनिएको छ ।
प्रकाशित वा प्रशारित समाचारका बारेमा असहमति भए नेपाल प्रेस काउन्सिल मार्फत खण्डन प्रकाशित गर्ने वा अन्य कानुनी उपचार हुँदाहुँदै संचारकर्मीलाई पक्राउ गर्ने र विद्युतीय कारोबार ऐन मुद्दा चलाउनेजस्ता गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक घटनाले सिंगो नेपाली प्रेस तथा प्रेस स्वतन्त्रतामाथिको नाङ्गो आक्रमण भएको नेपाल प्रेस युनियनको ठहर छ ।
युनियनले घटनाको सत्यतथ्य छानविन गरी पक्राउ परेका संचारकर्मी राजु बस्नेतलाई विना शर्त रिहाइ गर्न माग गरेको छ ।