arrow

प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्प प्रशासनको तयारी

logo
केन थोमस र सुसान जर्ज,
प्रकाशित २०७५ भदौ २६ मंगलबार
palestinian-office-washington.jpg

वासिङ्टन। संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन्।

राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सोमबार अपराह्न यससम्बन्धी घोषणा गर्ने बताइएको छ। “प्यालेस्टिनीहरुले इजरायलसँग प्रत्यक्ष र अर्थपूर्ण सम्झौता गर्न अस्वीकार गरिरहेको अवस्थामा” राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस्तो कार्यालय अमेरिकामा खोल्दैन, बोल्टनको भाषणको अंश उद्धृत गर्दै ती अधिकारीले बताएका छन्।

ट्रम्प प्रशासनले इजरायलसँग गम्भीर शान्ति वार्ता हुन नसकेको अवस्थामा वासिङ्टनमा कार्यालय बन्द गर्ने भन्दै गत वर्ष नै सूचित गरेको थियो।

प्यालेस्टिनी अधिकारी साएब एरेकातले ट्रम्प प्रशासनको कार्यालय बन्द गर्ने नीति हो भने त्यसले प्यालेस्टिनी जनतामाथि आमरुपमा सजाय दिन वासिङ्टन उद्यत रहेको पुष्टी गर्नेछ भने। स्वास्थ्य र शिक्षा समेतका मानवीय सेवाका लागि उपलब्ध हुने आर्थिक सहायतामा समेत अमेरिकाले कटौती गरेकामा उनले रोष प्रकट गरे।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन अर्थात् पिएलओले औपचारिक रुपमै सबै प्यालिस्टिनीको प्रतिनिधित्व गर्दछ। संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइन राज्यलाई मान्यता नदिए पनि पिएलओलाई वासिङ्टनमा अमेरिकी सरकारसँग औपचारिक वार्ता र छलफलका लागि प्रतिनिधित्व गर्न पाउने अख्तियारी दिइएको छ।

संयुक्तराज्य अमेरिकाका लागि पिएलओ प्रमण्डलका प्रमुखले ट्रम्प प्रशासनले “प्यालेस्टाइनमा दशकौंदेखिको अमेरिकी दृष्टिकोण र सहकार्य” लाई ध्वस्त बनाउन लागेको आरोप लगाए। “मानवीय र विकास सहायतालाई राजनीतिक सौदाबाजीका रुपमा शस्त्रीकरण गर्नु” उपयुक्त हुनै सक्दैन, राजदूत हुसम जोमलोटले बताए। ट्रम्पले प्यालेस्टिनी विरुद्ध एकपछि अर्को दबाबमूलक कार्य गरिरहेका छन्।

हालैमात्र ट्रम्प प्रशासनले प्यालेस्टिनी शरणार्थीको मद्दतका लागि संयुक्तराष्ट्र संघीय निकायलाई दिँदै आएको अमेरिकी सहायता बन्द गरेको थियो। साथै पश्चिमी किनारा र गाजामा सञ्चालित परियोजनाको सहायता रकम कटौती गर्नुका साथै प्यालेस्टिनीका लागि सेवा उपलब्ध गराउने जेरुसेलमस्थित एक अस्पतालका लागि दिइआएको सहयोग बन्द गरेको थियो।

ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिनुका साथै तेल अभिभबाट अमेरिकी राजदूतावास जेरुसेलम स्थानान्तरित गरेका थिए। उक्त कदमलगत्तै भएको प्रदर्शनका क्रममा दर्जनौं प्यालेस्टिनी मारिएका थिए। प्यालेस्टिनीहरुले पछिल्ला दिनहरुमा अमेरिका शान्तिविरोध रहेको आरोप लगाइआएका छन्।

इजरायली र प्यालेस्टिनी सरकार सक्रिय, प्रत्यक्ष सम्झौताको स्थितिमा नरहेका भए पनि ट्रम्प प्रशासनले इजरायल–प्यालेस्टिनी द्वन्द्व समाप्त गर्नेगरी मध्यस्थताको प्रयास जारी राखेको छ। ट्रम्पका ज्वाइँ एवं राष्ट्रपतिका वरिष्ट सल्लाहकार जारेड कुस्नरको नेतृत्वमा ह्वाइट हाउसका अधिकारीहरुले शान्ति प्रस्ताव तयार गरिरहेको बताइन्छ। एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ