बाल विवाहपछि पनि यस्तो घरबार : बाबु छोरा बराबर, आमा पनि तगडा
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ भदौ २६ मंगलबार
359
Shares
बझाङ् । “छकाल धुयाँको मुख, बाल्कालै भयाँका चेला” भन्ने बझाङी समाजमा एउटा उखान छ । यसको अर्थ हुन्छ बिहान उठेर हात मुख धोएर नित्यक्रर्म गर्नु र समयमै विवाह गरी छोरो पाई घरबारी जोड्नु ।
तर, वैवाहिक सम्बन्धका हिसावले कानुन अनुसार १६ वर्षमा विवाह गरे बदर हुने प्रावधान छ । तर पछिल्लो समय २० वर्ष नपुगि विवाह गर्न पाइँदैन बझाङी समाजमा प्राय जसो छोरी रजस्वला नहुदै विवाह गरिदिए पुण्य कमाईन्छ भन्ने प्रचलन अझै पनि छ । तर, अहिले अभिभावकले सचेत हुन थालेका छन् । उमेर पुगेपछि विवाह गरिदिने प्रचलनतिर उनीहरु अग्रसर भएका छन् । तर, बालबालिकाहरु भने आफुखुसी विवाह गर्ने क्रम रोकिएको छैन ।
उमेर नपुगि विवाह गर्दा बालबालिका शारीरिक, आर्थिक र सामाजिक रुपमा कमजोर हुन्छन् भन्ने मान्यता रहे पनि थलारा गाँउपालिका पिखेत घर भएका जगदीस रोकायाको परिवार बाल विवाहकै कारण खुसी छ । छिटो सन्तान जन्मेर बुबा आमा साथ साथैका छोरी–छोरी भएपछि उनीहरुमा छुट्टै उमंग छ । यसको अर्थ बालविवाह गरेर सुखी भईन्छ भन्ने चैँ होईन, जगदीश रोकायाको परिवार अपवाद हो ।
२०३५ सालमा जन्मिएका जगदीस रोकायाले आठ कक्षामा पढदै गर्दा २०५० साल फागुन ७ गते आफु भन्दा एक वर्ष कान्छि छिमेकी गाँउकी जानकी खत्रीसंग रोकायाकी आमाले मागि विवाह गराईन् । २०५३ सालमा एसएलसी दिँदा रोकायाको पहिलो सन्तानको रुपमा केशव रोकाया जन्मिए । केशवले आमाका दुध खाँदै गर्दा तीन वर्षपछि माईलो छोरा शंकर २०५६ मा जन्मिए । २०५९ मा फेरि कान्छो छोरा राजनको जन्म भयो ।
२५ वर्षको उमेरमै तीन छोराको बुबा भएर परिवार नियोजन गरेका रोकायाका छोराहरु हुर्कदै बढ्दै गए । जगदीस ४० वर्ष टेक्दा छोराहरु साथी भाई जस्तै देखिन्छन् । ४० वर्षकै उमेरमा जेठा छोरा केशवले गरेको सरकारी नाेकरीकाे कमाई पनि खाईसकेका छन्, जगदीसले । जेठा छोरा गएको वर्ष मात्रै नेपाली सेनाको जवानमा छनोट भए । संयोगले आफ्नो जिल्लामा दरबन्दी कायम भयो । माहिलो छोरा शंकर अहिले आई एसस्सीतर्फ १२ कक्षामा पढिरहेको बताउँछन्, उनी । कान्छो छोरा राजन पनि ११ कक्षामा पुगि सक्यो ।
बाबुछोरा साथी साथी जस्तै । जगदीस रोकाया र छोराहरु दाई भाई जस्तै देखिने भएकाले प्राय मान्छेहरु जिस्काइहाल्छन् । विहे त समयमै गर्नु पर्ने रहेछ है । विवाह भने उनले निकै अफ्ठयारो परिस्थितिमा गरेका रहेछन् । उनले भनेका छन्, ‘मेरो ६ वर्षको उमेरमा मेरा बुवाको निधन भएकाले आमालाई घरयासी कामको मार पर्यो । सहयोगका लागि बुहारी ल्याउँदा हुन्छ कि भनेर १५ वर्षको उमेरमै विवाह गरिदिनु भयो ।’
मेरो १५ वर्षको उमेरमा विवाह भएपनि छोराहरुको भने २० वर्ष नपुगि विवाह गर्दिन भन्छन्, उनी । पारिवारिक समस्या र बोझले रोकाया की श्रीमती अलि दुब्लीएकी छन् । तर, उनलाई त्यति धेरै जोखिम भने छैन । जगदीस पत्निको निकै ख्याल राख्छन् । अहिलेपनि ३०–३५ कै देखिन्छन्, उनी ठट्टा गर्दै भन्छन् ।
अब भने उनीहरु जेठो छोराका लागि बुहारी खोज्ने तरखरमा लागेका छन् । बालविवाहले व्यक्ति तथा समाजिक विकासमा बाधा हुन्छ, भन्ने भनाईप्रति भने उनीहरु सहमत छैनन् । उनी भन्छन्, ‘सबैभन्दा ठूलो कुरा इमान्दारिता हो । मानिसको शारीरिक विकास आफै हुन्छ । त्यो कसैले रोक्न सक्दैन । तर, शारीरिक र मानसिक खोजिममा पर्ने कार्यहरु पो गर्नु भएन ।’ परिरिस्थितिले बाल विवाह गर्न पुगेका जगदीश कानून विपरीत कोही जानू हुन्दैन भन्छन् ।
रोकाया अहिले नेपाल पत्रकार महासंघका अध्यक्ष, नेपाल पे्रस युनियन बझागंङ देखि विभिन्न सामाजिक संघ संस्थामा अगुवाई गरिरहेका छन् । विवाह गरेको २५ वर्षपछि आफ्ना तीन छोराहरुसंगको सामुहिक तस्बिर खिचेर सामाजिक सन्जाल फेसबुकमा अपलोड गर्दा उनका थुपै आफन्त शुभचिन्तकले बाबुछोरा दाईभाई जस्तै भनेर प्रतिक्रिया दिएका छन् ।
सामाजिक अभियन्ताहरुले जगदीसको परिवार उदाहरण भएको बताएका छन् । तर, यो परिवार अपवाद भएकाले बाल विवाहको अभियानमा भने कुनै कमि आउन दिन नहुने अभियन्ताहरुको तर्क छ ।