arrow

निर्मला हत्या प्रकरण : अपराध कबुल गराउन बर्बर यातना दिइएका क–कसले ठाेक्लान् प्रहरीविरुद्ध मुद्दा 

प्रहरीमाथि प्रश्नको चाङ्

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
nirmala1.JPG

काठमाडौं। कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकि १३ वर्षिया निर्मला पन्तको हत्यामा संलग्न भनेर प्रहरीले पक्राउ गरेका दिलिप विष्ट छुटेसँगै प्रहरीमाथि अझ शंका बढेको छ। प्रहरीमाथि मात्रै होईन सेनातिर पनि यसको संकेत गएको छ। निर्मलाको तत्काल दाहसंस्कारको दबाब दिन नेपाली सेनाको भूमिका पनि ठूलो छ। प्रमुख सेनानीले नै दस्तखत गरेका छन्, पेपरमा। 

दिलिपको डिएनए निर्मलाको डिएनएसँग मिलेन। औंला उठेको छ, प्रहरीमाथि। लहरो तान्दा पहरो खस्यो भनेझैँ तान्दैजाँदा लहरो नेपाली सेनातिर जाने देखिन्छ। बम दिदीबहिनी हाजिर जमानी र धरौटीमा रिहा भएका छन्। उनीहरुको घर सेनाको नजिकै पर्दछ। उनीहरुको घर, जहाँ निर्मला गृहकार्य गर्न गएकी थिईन्। जहाँ जो कोही अहिले पनि जाँदैनन्। अर्कोतिर अब प्रहरीविरुद्ध निर्मला हत्याको छानविनमा गडबड गरेको मात्रै होईन, अपराध कबुल गर्न यातना दिएकाहरुको उजुरीको पनि चाङ् लाग्नेछ।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार प्रहरीले दिलिप विष्टमात्र नभई घटनास्थल नजिक घर भएका थुप्रैलाई थुनामा राखेर यातना दिएको विवरण छ, 'उनीहरु सबैले प्रहरीले दिएको यातनाविरुद्ध उजुर गर्न पाउँछन्।' संविधानको धारा २२ मा रहेको यातना विरुद्धको हकमा ‘पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिईने वा निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन’ भनिएको छ। 

त्यसको उपधारा २ मा उपधारा १ बमोजिमको कार्य कानून बमोजिम दण्डनीय हुनेछ र त्यस्तो व्यवहारबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ, भनिएको छ। मानवअधिकार आयोगकी प्रवक्ता अन्सारीले भनिन्, ‘दिलिपको परिवारले पनि उनलाई दिएको टर्चर शारीरिक यातनाबारे प्रमाणसहित उजुरी दिन सक्छ।’

प्रहरीले त अपराध कबुल गराउन यातना दिएको रिपोर्ट आएछ नि ? भनी सोध्दा कञ्चनपुर प्रहरी प्रमुख एवं एसपी कुवेर कडायतले त्यसो हो भने, मुद्दा हाल्दा हुन्छ, भने। उनले भने, ‘उहाँहरु जो–जो हुनुहुन्छ। मुद्दा हाल्न लगाउनुस्।’ अन्सारीका अनुसार प्रहरीले अपराध कबुल गराउन दिलिप बाहेक अन्य ५–७ जनालाई पनि बर्बर यातना दिएको छ। यति सम्मकि रजश्वला भएकी एक महिलालाई निर्ममतापूर्वक कुटेकाे भिडियाे नै सार्वजनिक भएकाे थियाे। दिलिपका परिवारले मुद्दा हाल्ने तयारी गरेका छन्। 

दिलिपका दाई खडकले त प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल कञ्चनपुर पुगेका बेला आफ्नो भाई निर्दोष भएको र तत्कालीन अनुसन्धानमा खटिएका प्रहरीले फसाएको बताएका थिए। उनले प्रहरीले घरबाटै सर्टको टुक्रा लगेर घटनास्थलमा फालेर फर्जी प्रमाण देखाएकाे कुरा समेत खनाललाई सुनाएका थिए। स्वास्थ्य परीक्षणका नाममा काठमाडौं लगेर चरम यातना दिने काम गरेको भन्दै उनले आफ्नो भाईको रिहाईका लागि पहल गरिदिन अनुरोध समेत गरेका थिए।

प्रहरी महानिरीक्षक खनालले दोषी उम्किन नपाउने र अनुसन्धानमा लापर्वाही गर्नेको जागिरै जानसक्छ भनेका थिए। दिलिपका दाई खडकले भनेको कुरा के प्रहरी महानिरीक्षक खनालले विर्से होलान् ? अब क–कसको जागिर उछिट्याउन् त? यातनादिने विरुद्ध उजुरी हाले कारबाही होला कि नहोला? अब प्रहरीमाथि प्रश्नै प्रश्न उठ्नेछन् । प्रश्नको चाङ लाग्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ