arrow

मध्याह्नसम्म तीन लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
teej-2018.jpg

काठमाडौं। भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन्।

बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो। यस वर्ष लाम व्यवस्थित भएकाले चक्रपथको तिलगङ्गा–गौशाला–चावहिल मार्ग सवारी चलिरहेको छ। यसले गर्दा भक्तजनलाई आवतजावत गर्न सहज भएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

दर्शन गरेका महिलाले पशुपति क्षेत्रमा तीजका गीत गाई नृत्य प्रस्तुत गरिरहेका छन्। महिलाको विशेष उपस्थिति रहेको छ। रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाको पशुपति परिसरमा भीड छ। उपत्यकाको गोकर्णेश्वर, डोलेश्वरलगायत शिवालय, उपत्यकाबाहिर धनेश्वर, कुशेश्वर, हलेसीलगायत शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो छ।

तीजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ। कति भक्तजनले आजै हरितालिकाको पूजा लगाउँछन्। पूजा नलगाउनेले भाद्र शुक्ल चौँथीका दिन बिहान गोदान र पूर्णपात्र गरेपछि व्रत समापन हुन्छ। विवाहित नारीले पारिवारिक कल्याण एवं सुख शान्ति, अविवाहितले सुयोग्य वरको कामना गरी व्रत बस्ने परम्परा सत्य युगदेखि नै चली आएको धार्मिक विश्वास छ। यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले गरी महादेव स्वामी पाएको पौराणिक कथन छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ