arrow

निर्मला हत्या प्रकरण : वीरेन्द्र केसीको राजीनामा फिर्ता शंकास्पद

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
BKC.jpg

काठमाडौं । कञ्चनपुरको भीमदनगर २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानविनका गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् ।

गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले आफूले राजीनामा फिर्ता लिएको बताए । उनी एकाएक युटर्न भएकोबारे खासै कुरा बाहिर आएको छैन । 

छानविन समितिको म्याद थपेपछि निर्मला पन्तले न्याय पाउनेमा शंका लागेको भनी राजीनामा दिएका समिति सदस्य केसीले भनेका छन्, ‘राष्ट्र सेवकको रूपमा मलाई प्राप्त अवसरमा पुनः संलग्न रही निष्पक्ष रूपमा छानविन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गरेको छु ।’ 

उनले अगाडि भनेका छन्, ‘सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आजदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहनेछु ।’

प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत रहेका केसीले सोमबार स्वेच्छाले राजीनामा दिएको बताएका थिए भने, फेरि त्यही भाषा प्रयोग गरेर फर्किएका छन् । 

राजीनामा दिएको दिने उनले हाम्राकुरासँग आफुसँग समितिबाट बाहिरिनुबाहेक विकल्प नभएको भनेका थिए । त्यतिमात्रै होईन समितिमा सबै गृहका मान्छेहरु छन्, म मात्रै न्याय सेवाको छुँ, मेरो ज्यान जोखिममा छ’ समेत उनले भनेका थिए । 

मंगलबार राति गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकले उनीमाथि पनि छानविन गर्ने भनि निर्णय गर्नेवित्तिकै उनी निर्मलालाई न्याय दिने भन्दै फेरि स्वेच्छाले फर्किको भाषा बनाउँदै फर्किएका छन् । यो शंकास्पद छ । दिलिपसिंह विष्ट कार्ड फेल भएपछि कतै गृह प्रशासनले केसी कार्ड प्रयोग गर्न लागेको त होईन भन्ने शंका बढेको छ । केसीकाे फाेन अफ भइसकेकाे छ । 

हिजाे न्याय सेवाकाे म मात्रै भएकाले म जाेखिममा छु ग‍ृहकाले सुरक्षा पाइहाल्छन् भनी मिडियावाजी गरेका केसीलाई के गृहले उच्च सुरक्षाकाे प्रबन्ध गर्‍याे ? कि उनलाई जागिर जाने डर भाे ? कि गृहले उनीमार्फत सबै कुरा चुहिन्छ भनेर लाेभ देखाएर पर्कायाे ? अथवा सकारात्मक भएर साेच्ने हाे भने कि केसीमार्फत निर्मला हत्याका दाेषीसम्म पुग्न छानविन समितिमा उनकाे खाँचाे प‍र्‍याे यी प्रश्न उब्जिएका छन् उनकाे राजीनामा फिर्ताले ? 

अर्काेतिर उनलाई गृहमन्त्रीले सरुवा मिलाइदिने स‌ंकेत गरेकाले फिर्ताभएकाे कुरा पनि अाइरहेकाे छ । यसकाे राज विस्तारै खुल्दै जाला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ