arrow

३३ सालका अभियुक्त ०७५ मा भेटिए, प्रतिवादी ४२ बर्षपछि पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ भदौ २७ बुधबार
Syangja.jpeg

स्याङ्जा। तत्कालिन रत्नपुर गाँउपञ्चायत ८ हाल चापाकोट नगरपालिका ८ स्थित २०३३ साल चैत्र २ गते चैतेदशै मेला हेर्न गएका पाल्पाका जीतबहादुर रानालाई हत्या गरेको अभियोग लागेका देवीबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ।

घर विदामा आएका भारतीय सेनामा कार्यरत २४ बर्षिय रानालाई निर्घात कुटपिट गरी कालीगण्डकी नदीको किनारमा फालेर हत्या गरेको अभियोगमा तत्कालिन अवस्थामा रत्नपुर र सेखामा गरी १२ जनालाई रानाका दाजुले किटानी जाहेरी दिएका थिए। 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घट्नाको अनुसन्धान पश्चात जिल्ला अदालतमा प्रतिवादीहरुलाई तारेखमा राखी पुर्पक्ष गरेकोमा २०३६ साल माघ १७ गते सम्पूर्ण प्रतिवादीहरुलाई कसुरदार ठहर गरी जन्मकैदको फैसला गरेको थियो। प्रतिवादीहरुले पश्चिमाञ्चल क्षेत्रिय अदालतमा पुनरावेदन गरेकोमा २०३९ साल कात्तिक २४ गते जिल्ला अदालतकै फैसला सदर गरेको र पुन प्रतिवादीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि २०४० साल माघ ८ गतेको फैसलाले जिल्ला अदालतकै फैसालालाई सदर गरेको थियो। 

अदालतको फैसलाले जन्मकैद सदर गरेपछि भारत लगायत विभिन्न ठाँउमा लुक्दै हिडेका घट्नामा संलग्न मध्ये केही मृत्यु भईसकेको प्रहरीले जनाएको छ। घर्तीलाई प्रहरीले २०७५ साल भदौ २१ गते निजका दाजु बलबहादुर घर्तीको घरमा आएर बसेका बेला रत्नपुर प्रहरी चौकीले पक्राउ गरेको हो। उनी सगै संलग्न रत्नपुरका भक्तबहादुर कुमाललाई २०७१ साल माघ १० गते पक्राउ गरी जिल्ला कारागार स्याङ्जामा सजाय भुक्तान गरीरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ प्रकाश बिष्टले बताए।

कुमालको उमेर ६९ बर्ष रहेको छ भने घर्तीको उमेर ६५ बर्ष रहेको छ। अभियुक्त घर्ती तत्कालिन अवस्थामा चापाकोट टार सिंचाई आयोजनामा पियन पदमा कार्यरत थिए। घट्नामा संलग्न अन्यको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

अपराधमा संलग्न भई अदालतले दोसी ठहर गरेको जो सुकै अपराधी उम्कने प्रयास गरेपनि ढिलो चाडो कानुनी दायरामा ल्याएर छाड्ने र समाजमा दण्डहिनताको अवस्था उन्मुलन पार्न नेपाल प्रहरी सदैव प्रतिवद्ध रहेको विष्टको भनाई छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ