- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसले प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने गराउने निश्चित विधि–प्रक्रिया आजको लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको छ भन्दै त्यसको विरोध गर्नेलाई हतकडी लाउन पाइँदैन भनेको छ ।
समाचार साभार गरेर प्रकाशन गर्ने पत्रकार राजु बस्नेतलाई सरकारले पक्राउ गरी कार्वाही गरिरहेकोप्रति आपत्ति जनाउँदै काँग्रेसले तत्काल रिहा गर्न सरकारसंग माग गरेको छ ।
काँग्रेसले विज्ञप्ति जारी गर्दै प्रेसमाथिको हस्तक्षेप तत्काल बन्द गर्न सचेत समेत गराएको छ ।
काँग्रेसले विज्ञप्तिमा भनेको छ, ‘केही समय यता राज्यसंयन्त्रनै मिडियाप्रति असहिष्णु ढंगले प्रस्तुत भइरहँदा त्यसले लोकतान्त्रिक सत्ता र संस्कृतिको होइन ‘अधिनायकवाद उन्मुख’ प्रवृत्तिको श्रृंखलालार्इ पुष्टि गर्दै गएको छ । पत्रकार राजु वस्नेत माथिको आपत्तिजनक व्यवहारलाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।’
प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘हामी राज्यको सार्वजनिक जवाफ चाहन्छौं – संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको बिम्व के कलमजीवीका हातमा हतकडी हो ? द्वन्द्वकालमा यो या त्यो पक्षबाट पत्रकारहरु प्रताडित भएको घटनाको तितो स्मृति हामी सबै थरीको मानसपटलमा जिवित छ । तर बदलिएको परिस्थितिमा पनि पत्रकारहरुले निरन्तर पीडा भोग्नु परेको चित्र दुःखद त छ नै अत्यन्तै गम्भिर पनि छ ।’
काँग्रेसले जारी मुलुकी संहितामा रहेका कतिपय प्रेस स्वतन्त्रतालाई असर पुग्ने प्रावधानहरु संशोधन गर्ने प्रकृया अघि बढाई सिद्धान्त एवं व्यवहारत दुवै ढंगले स्वतन्त्र प्रेसको अक्षुणता कायम राख्ने दिशामा अग्रसरताका लागि अपिलसमेत गरेको छ ।