कन्चनपुरमा अपहरित नौ महिने शिशुको प्रहरीद्वारा सकुशल उद्दार
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ भदौ २८ बिहिबार
1k
Shares
पुनर्वास, कन्चनपुर। पश्चिम नेपालको कञ्चनपुरमा केही समय यता सामाजिक अपराधका घटनाहरुमा वृद्धि भइरहेका छन् यसैबिच बुधबार मध्यरातमा आमासंगै सुतेकी एक नौ महिने बालिका अपहरणको ५ घन्टा पछि प्रहरीले सकुशल उद्दार गरेको छ ।
बुधबार हरितालिका तीजका दिन पुनर्वास नगरपालिका ८ स्थित कगाउँमा माइतीघर आएकी पुनर्वास नगरपालिका ५ गगाउँ कि बेलु बिष्ट आफ्नी ९ महिने छोरी सरस्वतीसंग सुतेकी थिइन् । रातीको करिब २ बजेर ३८ मिनेट तिर निन्द्रामै रहेका बेला कुनै ब्यक्तिले नौ महिने शिशुलाई उठाएर लगेको थियो । मध्यरातमा आमासंगै सुतिरहेको नौ महिने बालिकाको अपहरण भएको खबर पाउनासाथ घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलिले खोजतलास तिब्र बनाएको थियो ।
अपहरित बालिका र अपहरण गर्ने ब्यक्तिको व्यापक खोजीकार्यमा खटेको प्रहरीले बिहिबार बिहान ७:४० बजे बालिकाको सकुशल उद्दार गरेको हो।
मध्य रातमा अज्ञात ब्यक्तिद्वारा अपहरित नौ महिने बालिका सरस्वती बिष्ट राती सुतेको मावली घर भन्दा झन्डै ५०० मिटर जनजागरण सामुदायिक वनको उत्तरतर्फ खोला नजिकै धानबारीमा फालिएको अबस्थामा प्रहरीले भेटाएर उद्दार गरेको हो ।
उद्दार गरिएकी ९ महिने बालिका सरस्वतीलाई बिहिबार बिहान कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतको उपस्थितिमा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा, उपमेयर शारदा बिष्ट धामी र पत्रकारहरुको रोहवरमा आमा बेलु बिष्टको जिम्मा लगाएको हो ।
बालिका सरस्वतीलाई सकुशल उद्दार गरिए पनि आमासंगै सुतिरहेकी शिशुलाई कसले किन अपहरण गरि धान बारीमा फाल्यो अझै रहस्यमै रहेको छ । पुनर्वासमा आमाको आखमा सुतिरहेकी शिशुको अपहरण गरि लैजाने ब्यक्तिको प्रहरीले व्यापक खोजी कार्य गर्न तिब्रता लिएको प्रहरीले जानकारी गराएको छ ।
९ महिने बालिकाको मध्यरातमा अपहरण भएको खबर पाउना साथ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायत पुनर्वास पुगेका थिए । कञ्चनपुरमा पछिल्ला दिनहरुमा भइ रहेको बालिका बलात्कार र हत्याका घटनाले जिल्लाको शान्ति सुरक्षामा उत्पन्न भएको स्थितिले सुरक्षामा चुनौती थपिएको एसपी कडायतले बताए ।
एसपी बिष्टले भने सामाजिक बिकृति चरम सीमामा पुगेको छ । चिनजानकै ब्यक्तिबाट समाजमा घटना घटिरहेको छ । यस्ता घटना रोक्न सकिएन भने समाजमा भयावह स्थिती आउने छ । उनले भने - समाजको शान्ती सुरक्षा सुधार्न एकल प्रहरीको प्रयासले सम्भव छैन । समाजका हरेक नागरिकले समयमै सुचना दिएर प्रहरीलाई सहयोग गर्नुपर्ने हुन्छ ।
बालिका सरस्वतीकि मावली हजुर आमा धना बयाडी भन्छिन् -अहिलेसम्म यस्तो घटना नभएको आज कसरी भयो अचम्म लागेको छ । आमासंग सुतेको बच्चा चोरी गर्ने घटनाले आफुलाई आश्चर्यजनक लागेको बताइन् ।