निर्मलाको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी पीडा मलाई : गृहमन्त्री थापा

प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार , २,३५५ पटक हेरिएको
तस्बिर : फाइल

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउका छन्।निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उनले भने, “दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला।” निर्मलाको हत्यारा नजीक अनुसन्धान पुगिसकेको भन्दै उनले दोषीलाई कठघरामा ल्याउन प्रयास जारी रहेको बताए।

गृहमन्त्री थापाले भने, “कञ्चनपुर घटनामा हामीले शुरु देखिनै ध्यान दिएका हौँ। घटनालगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौँ, त्यसपछि केन्द्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोली पठायौँ, त्यसले पनि नभएपछि उच्चस्तरीय छानबिन समिति गठन गरियो। समितिबाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भईरहेको छ।”

सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरबाहीलाई छुट नदिइने गृहमन्त्रीले स्पष्ट पारे। दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्रीले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताए।

सो अवसरमा निर्मलाका आमा, बाबुले घटना घटेको लामो समय बित्दासमेत दोषी पत्ता नलागेको, प्रहरीबाट विगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए। रासस

नयाँ