arrow

भेनेजुयलाका राष्ट्रपति माडुरो चीन भ्रमणमा, थप ५ अर्ब ऋण थप्ने योजना

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
xi-maduro.jpg

बेइजिङ, चीन। भेनेजुयला र चीनबीच उर्जा तथा सुन उत्खननका लागि शुक्रबार सम्झौता हुने कार्यक्रम तय भएको छ। राष्ट्रपति माडुरोको चार दिने भ्रमणको दोस्रो दिन शुक्रबार सम्झौता हुनुपूर्व चीनका स्वर्गीय नेता माओत्सेतुङको समाधिस्थल तियानानमेनमा पुगी नेता माओप्रति सम्मान व्यक्त गरेका छन्।

माडुरोले भेनेजुयलाको राज्य सञ्चालित भिटिभी नेटवर्कद्वारा प्रशारित प्रतिक्रियामा भने, “हामीले यो राजकीय भ्रमणको उत्कृष्ट रूपमा शुरुवात गर्न चाहन्छौँ। त्यसैले हामीले सम्झौता गर्नुपूर्व चीनका सर्वोच्च नेता माओत्सेतुङप्रति श्रद्धाभाव प्रकट गर्न यहाँ आएका छौँ।”

मेरो चीन भ्रमणले मलाई एक्काइसौँ शताब्दीमा विश्वभर चर्चाको शिखर चुम्न सफलमध्येका एक नेताको स्मरण गरिरहँदा मलाई प्रोत्साहन मिलेको छ। उनले माओत्सेतुङलाई प्रसंशा गर्दै भने, “विशाल मानवसागर रहेको चीन तथा विश्वको क्रान्तिकारी विचारका स्रोत माओको विचारले मलाई सङ्कटका बेला धैर्य बनेर काम गर्न प्रेरणा मिल्ने गरेको छ।”

भेनेजुयलाका राष्ट्रपति माडुरोले चिनियाँ राष्ट्रपति सी चिनपिङको समेत प्रसंशा गरेका थिए। माडुरो र सीबीच शुक्रबार नै भेट हुने कार्यक्रम रहेको छ। सीले विश्वभरका मानवजातिका लागि साझा अबधारणा ल्याएको बताए।

भेनेजुयली नेताले पटक पटक अमेरिकी शासकसँग सङ्घर्ष गर्नुपरेको धारणा राख्दै अमेरिकी नेतृत्वको कटाक्षसमेत गरे। धम्की, प्रभुत्वको दवावमा विश्वका मानव जातिमा शासन गर्ने शासकको भरमा शान्तिको वागडोर रहनु दुर्भाग्यपूर्ण रहेको उनले बताए।

माओत्सेतुङको समाधिस्थलमा विरलैमात्र विदेशी नेताहरूले सार्वजनिक रूपमा भ्रमण गर्ने गरेको पाइन्छ। चीनको सांस्कृतिक क्रान्तिका समय अर्थात् सन् १९४९ देखि १९७६को समयमा माओको शासन विरुद्ध आवाज उठाएको आरोपमा मारिएका चिनियाँ नागरिकलाई तियानानमिनमा पुरिएको बताउँने गरिएकाले विदेशी नेताहरूले उक्त स्थानको भ्रमण नगर्ने गरेको बताइने गर्छ।

विश्वका उच्च पदस्थ नेताको भ्रमणका क्रममा सार्वजनिक रूपमा नै क्युवाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रोले आफ्ना दाजु फिडेल क्यास्ट्रोको उत्तराधिकारीका रूपमा जिम्मेवारी सम्हाल्ने तयारी गर्दैगर्दा सन् २००५ मा उक्त समाधिस्थलको भ्रमण गरी स्वर्गीय नेता माओप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। त्यस पहिले सन् १९९५ मा माओको समाधिस्थलमा फिडेल पनि पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

भेनेजुयलाको अर्थतन्त्रमा व्यापक सङ्कट देखिएका समय माडुरोले प्रमुख ऋणदाता चीनको भ्रमण गरी देशको अर्थतन्त्रलाई उकास्ने योजना भित्राउने योजना रहेको भेनेजुयली अधिकारीले बताएका छन्।

भनेजुयलाले अमेरिका तथा यूरोपेली यूनियनले आफ्नो मुलुकबाट अर्बौ डलर कब्जामा लिएर ‘व्यापारमा रोक’ लगाएको आरोप लगाउने गरेको छ। भेनेजुयलाको राजनीतिक तथा आर्थिक अवस्थामा सङ्कट आएसँगै यहाँको मुद्रा अमेरिकी मुद्राको तुलनामा निकै तल झरेको छ।

शुक्रबार साँझ नै भेनेजुयलाको अर्थतन्त्रलाई थप सङ्कटतर्फ जान नदिन उर्जा तथा सुन खानीलगायतका बिषयमा हस्ताक्षर हुनेछ। ओपेक सदस्य राष्ट्र भेनेजुयलालाई चीनले विगत एक दशकमा ५० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएको थियो। जसम्ध्ये पेट्रोलियम पदार्थ आपूर्तिमार्फत ल्याटिन अमेरिकी राष्ट्रले ३० अर्ब अमेरिकी डलर फिर्ता गरेको छ भने अझै २० अर्ब अमेरिकी डलर ऋण तिर्न बाँकी छ।

माडुरोको चीन भ्रमणमा थप ५ अर्ब ऋण थप्ने र पूरानो ऋणको म्याद आगामी छ महिना बढाउने कार्यक्रम रहेको भेनेजुयली संस्था इकोनालिटिकाले जनाएको छ। यसै हप्ता चीनको भ्रमण गरेका भेनेजुयली उपराष्ट्रपति डेल्सी रोड्रिगेजले चाइना डेभलपमेन्ट बैङ्कका अधिकारीसँग पनि यसै बिषयमा भेट गरेका थिए। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ