arrow

आफ्नो दिवसमा झुमे बालबालिकाहरु

logo
रमेश विक,
प्रकाशित २०७५ भदौ ३० शनिबार
baldiwas.jpg

गुल्मी । बाल दिवसको अवसर पारेर सदरमुकाम तम्घासमा नेपाल बाल संगठन गुल्मी र जिल्ला बाल कल्याण समिति गुल्मीले विविध कार्यक्रम सम्पन्न गरेको छ । ‘सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ भन्ने मुल नाराका साथ यही भाद्र २४, २८ र २९ गते विभिन्न कार्यक्रमहरु गरेको छ । 

बाल दिवसको अवसर पारेर भाद्र २४ गतेका दिन सदरमुकाम तम्घास रहेका १० वर्ष मुनिका बालवालिकाहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको थियो । 

सोही अवसरमा भाद्र २८ गते सदरमुकाम तम्घासको लाकुरीमञ्च र चिदिचौर खेलमैदान वरिपरि सरसफाई गरेको थियो उक्त सरसफाई कार्यक्रममा उद्योग वाणिज्य संघ, सुरक्षाकर्मी, रेसुङ्गा नगर तथा वातावरण संरक्षण संस्था गुल्मी र जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 

त्यस्तै अब बालबालिकाका मुद्धामा स्थानीय सरकारहरुले एकिकृत रुपमा काम गर्नु पर्नेमा जिल्लाका सरोकारवालाले जोड दिएका छन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले समाजमा बालश्रम शोषणको स्थिती बिद्यमान रहेकाले सवैको साझा प्रयासमा यसलाई निर्मुल पार्न सकिने बताएका छन् ।    
                                      
‘हिजो र भोलीका आर्दश कुरा गर्दै कसैलाई दोष दिनुपर्दैन,’ उनले भने, ‘१२ वटै स्थानीय सरकार एउटै टेवलमा बसेर समिक्षा गरौ, कसले कति काम गर्यौं ।’ 

साथै उनले केहीबेर बालश्रमिकको उद्धार गर्ने, किताव कापी प्रदान गर्ने र बिद्यालय पठाउनु प्रवृतिले समस्याको समाधान नहुने भएकाले दीर्घकालिन समस्या समाधानमा सवै स्थानीय सरकार प्रमुख सकारात्मक बन्नुपर्नेमा जोड दिए ।

 त्यस्तै रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बर्षमा एक दिनको दिवसको खासै अर्थ नहुने भएकाले बाल अधिकारको संरक्षण र प्रत्याभुतिका लागि तीन सय ६५ दिन नै बालदिवस जस्तै बन्नुपर्ने धारणा राखेका छन । उनले अव क्षमता भएका केहि जिम्मेवार व्यक्तिले बिपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेर भएपनि उनीहरुको बाल अधिकारको संरक्षणमा सहयोग पुर्याउने बताएका छन । 

त्यस्तै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडलले जिल्लामा रहेका सडक बालबालिका, बाल श्रमिक र बालश्रम शोषणको सुक्ष्म अध्ययन भैरहेकाले उनीहरुको अधिकार स्थापित गर्न जिल्ला प्रशासन कार्यालय लागि परिरहेको बताएका छन् । 

उनले तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा योजनाबद्ध रुपमा काम गरे मात्रै पनि बालअधिकारको क्षेत्रमा ठुलै उपलब्धि हुने बताए । दिवसको अवसरमा अन्तर बिद्यालय स्तरिय नृत्य प्रतियोगीताको आयोजना साथै आयोजना गरेको थियो । 

कार्यक्रम जिल्ला बाल संगठनका अध्यक्ष नन्दराम भुसालको अध्यक्षता र कोषाध्यक्ष ताराप्रसाद पाण्डेको स्वागत मन्तव्य तथा सचिव हरिकुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । 

नृत्य प्रतियोगीतामा आदर्श बिद्या आश्रम बिजेता तथा बुद्ध मावि उपबिजेता बनेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, महेन्द्र नमूना मावि र रेसुंगा बहुमुखी क्याम्पसको तर्फबाट बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ