arrow

उपराष्ट्रपति पनि चीन जाँदै

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
vice-presidential-candidate-nanda-bahadur-pun.jpeg

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘१७औँ चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन आगामी असोज ३ गते चीन जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिलेको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन् । 

चीन भ्रमणका क्रममा उपराष्ट्रपतिले सिचुवान प्रान्तको राजधानी छेन्दुमा आगामी असोज ४ गतेदेखि शुरु हुने मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्ने छन् । उपराष्ट्रपति पुनले आगामी असोज ५ गते अन्तर्राष्ट्रिय मेलाका अवसरमा छेन्दुमा आयोजित ‘डिजिटल फोरम’लाई समेत सम्बोधन गर्ने प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । 

चीनमा रहँदा उहाँले चीन सरकारका उच्च पदाधिकारी, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिसँग पनि भेट गर्ने छन् । उपराष्ट्रपति पुनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्ने छन् । 

भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारीलगायत सहभागिता हुने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । 

उपराष्ट्रपति पुन औपचारिक भ्रमण सकी आगामी असोज ८ गते स्वदेश फर्कने छन् । अघिल्लो कार्यकालमा उपराष्ट्रपतिले दुई पटक चीनको औपचारिक भ्रमण गरेका थिए ।  उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उनकाे पहिलो वैदेशिक भ्रमण हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ